ओलीले एकलौटी गर्न खोजेपछि फेरि नजिकिए प्रचण्ड-माधव
गोप्य भेटघाट बाक्लियो
प्रधानमन्त्रीले आफ्नो ‘अधिकार’ प्रयोग गरेर पार्टीभित्र परामर्शबिनै राजदूत र मुख्य सचिव नियुक्त गरेपछि नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल फेरि एक ठाउँमा उभिन पुगेका छन् ।
स्रोतका अनुसार, उनीहरूबीच भेटवार्ता र संवाद फेरि बाक्लिन थालेको छ । पछिल्लो समयमा पाटनस्थित कृष्णलाल महर्जनको घरमा विभिन्न चरणमा प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच छलफल भएको बताइएको छ ।
स्रोतका अनुसार, २०७७ असोज १३ गते महर्जनको घरमा प्रचण्ड, माधव र नारायणकाजीबीच असोज १७ मा सचिवालय बैठक बोलाउने सहमति भएपछि प्रचण्ड यही प्रस्ताव बोकेर बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीलाई भेटेर फर्किएपछि पनि उनै महर्जनको निवासमा प्रचण्ड, माधव र नारायणकाजीबीच पुनः छलफल भएको बताइन्छ ।
हिँड्दै छ पाइला मेट्दै छ
तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि बहसभन्दा पनि विवादले यो दललाई छाडेको छैन । एउटा विवाद किनारा लागेको केही समयमा नै पुनः अर्को विवाद जन्मिने श्रृंखलाले आजसम्म निरन्तरता पाइरहेको छ ।
२०७७ असार यता नेकपामा विवाद खुबै बल्झियो । नेकपा अध्यक्षद्वयले विवाद समाधानका लागि कार्यदल गठन गरेपछि विभाजनको संघारमा पुगेको नेकपाले त्राण पाएको थियो ।
तर यो विवाद समाधान नहुँदै फेरि राजदूत र मुख्य सचिव नियुक्तिको विषयले नेकपाभित्र असन्तुष्टि चुलिएको छ । संस्थागत निर्णय पालना नगर्ने परिपाटीले नेकपा आन्तरिक विवादमा फस्दै गएको विश्लेषणहरू बताउँछन् ।
प्रचण्डले एक्कासी सम्झिए बाबुराम बैद्य र विप्लव, एकतामा आउन अपिल
लगातारको कलहलाई दीगो रूपमा व्यवस्थापन गर्नुपर्ने भए पनि प्रचण्ड–माधव र केपी ओली आफ्नो गुट बलियो बनाउन उद्यत देखिएका छन् । प्रचण्डले पूर्वएमाले र ओलीले पूर्वमाओवादीभित्र खेलेको आरोप एकले अर्कोलाई लगाउन थालेका छन् । यसले पनि कार्यदल योजना लथालिंग भएको नेता–कार्यकर्ताको बुझाइ छ ।
मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपा अध्यक्षद्वयबीच सैद्धान्तिक सहमति जुटे पनि प्याकेजमा चाहिं कसरी गर्ने भन्नेमा टुंगो लाग्न सकेको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री निवास, र प्रधानमन्त्रीका सल्लाहकारहरू, सुरक्षाकर्मीहरूमा कोरोना संक्रमण, सर्बोच्च अदालतमा हेर्दाहेर्दै अवस्थामा रहेको नेकपाका उपाध्यक्ष वामदेव गौतमको मुद्दालगायत विविध कारणले मन्त्रिपरिषद् को हेरफेर कहिले हुने भन्ने टुंगो छैन ।
मन्त्रीमा छनौटमा अन्योल
स्रोतका अनुसार, सबै मन्त्री हटाएर पुनर्गठन गर्नुपर्ने प्रचण्डको भनाइ छ । प्रचण्डको यस्तो प्रस्ताव ठाडै इन्कार गर्ने पक्षमा स्वयं प्रधानमन्त्री ओली नरहेको बताइन्छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली वर्षमान पुन, रामेश्वर राय यादव, घनश्याम भुसाल, जगत विश्वकर्मा र शक्ति बस्नेतलाई बिदा दिने पक्षमा रहेको प्रचार गरिएको छ ।
तीन मन्त्री नहट्ने पक्कापक्की
तर ईश्वर पोखरेल, रामबहादुर थापा बादल र प्रदीप ज्ञवालीलाई कुनै हालतमा पनि बदल्न नहुने अडानमा प्रमं रहेको स्रोत बताउँछ ।
प्रचण्ड भने बादललाई कुनै पनि हालतमा गृहबाट हटाउनुपर्ने पक्षमा छन् । बरु, गृहबाट हटाएर एक मन्त्रालयसहित उपप्रधानमन्त्री बनाउन सकिने प्रचण्डको भनाइ रहेको बताइन्छ ।
स्रोत भन्छ यो प्रस्तावमा प्रधानमन्त्री राजी छैनन् ।
पूर्वमाओवादी खेमाका टोपबहादुर रायमाझी र प्रभु साहलाई पनि आफ्नो मन्त्रिपरिषद्मा समेट्ने चाहना प्रधानमन्त्रीले राखेको स्रोत बताउँछ ।
२५ असोज २०७७, आइतवार ०९:१९ बजे प्रकाशित





