डेभलपमेन्ट होइन, सरकारले डेलिभरी पनि दिन सकेन : प्रभु साह
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी भूमिका रहने बताएका छन् ।
आज काठमाडौं स्थित आजपाको कार्यालयमा बसेको अग्रगामी मोर्चा बागमती प्रदेश समन्वय समितिको बैठकमा देशको पछिल्लो राजनीतिक अवस्थाबारे प्रकाश पार्दै उनले यस्तो बताए । उनले अहिले देशलाई अन्त्यहीन संकटको भूमरीमा फसाउन खोजिएको भन्दै त्यसलाई रोक्नको लागि मोर्चाको जन्म भएको स्पष्ट पारेका छन् ।
आजपा अध्यक्ष साहले देशलाई प्रतिगमनतर्फ डोर्याउने षड्यन्त्र भइरहेको र विभिन्न संघर्षबाट प्राप्त उपलब्धि उल्टाउन खोजिएकाले आफूहरु परिवर्तन र अग्रगामी शक्तिहरु एकजुट भएको बताए ।
उनले आफूहरुको सहकार्य कुनै सत्ता प्राप्तिको लागि नभएर संघर्षको लागि भएको स्पष्ट पारे । उनले आफूहरु हिसाब हिसाब गररी गरी नमिलेको तर बेहिसाब पनि नमिलेको जिकिर गरे ।
उनले भने,“हामी हिसाब गरेर मिलेका होईनौं, तर बेहिसाब पनि मिलेका छैनौं ।” उनले मोर्चामा आन्दोलनबाट खारिएर र जनताको अधिकार स्थापित गरेर आएका अग्रणी नेताहरुको सहभागिता रहेकोले यसले देशलाई सही दिशा दिलाउने पनि विश्वास दिलाए । मुलुकका सामू राजनीतिक, आर्थिक र वैदेशि सम्बन्ध सबैखाले समस्या चुलिएको भन्दै यस्तो बेलामा आफूहरुले सत्तामा बसेकाहरुलाई खबरदारी गर्ने पनि साहले विश्वास दिलाए । लोकतन्त्रको लय गुमेको र व्यवस्था नै बरालिएको आभाष भएको भन्दै लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्नको लागि आफूहरुको हस्तक्षेपकारी भूमिका हुने पनि साहले स्पष्ट पारे ।
उनले रास्वपा नेतृत्वको सरकारले सही तवरले देशलाई नेतृत्व प्रदान गर्न नसकेको दाबी गरे । वालेन्द्र शाह नेतृत्वको सरकार नारा नयाँ दिएर उदाएको भएपनि जनताको आकांक्षा पूरा गर्न चुकेको साहको आरोप छ । उनले वर्तमान सरकारले डेभलप्मेन्टको नारा दिएपनि ग्याँसलगायतका सामान्य डेलिभरी पनि दिन नसकेको भन्दै आलोचना गरे । रास्वपाभित्र चुलिएको शक्ति संघर्ष, प्रधानमन्त्रीको कार्यशैली र मन्त्रीहरुको प्रस्तुतिले पनि सरकार एकपछि अर्को गरेर आलोचनाको केन्द्र बनेको भन्दै प्रधानमन्त्रीलाई तत्काल कार्यशैली सुधार गर्न उनको सुझाव थियो ।
एक सय दिनको कार्ययोजना प्रस्तुत गर्दासम्म प्रधानमन्त्री वालेन्द्र शाकको वाहवाही भएको भएपनि सरकारको तर्फबाट नीति तथा कार्यक्रम आउँदा र बजेट आईपुग्दासम्म एकाएक प्रधानमन्त्रीको लोकप्रियतामा ह्रास आएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई अर्थमन्त्रीले नै असहयोग गरेको हो कि भन्ने प्रश्न उब्जिएको बताए ।
संघीयता, समानुपातिक समावेशिताजस्ता उपलब्धि खोस्ने दुष्प्रयास गरे जनस्तरबाट प्रतिकार हुने उनको चेतावनी छ । मोर्चा सत्ता प्राप्तिको लागि नभएर केवल देश र जनताको पक्षमा उभिन र संघर्षको मैदानमा खडा हुन गठन गरिएको साहले स्पष्ट पारे । पछिल्लो समय देशको आन्तरिक एकता, सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने षड्यन्त्र भएको भन्दै ती सबै षड्यन्त्रलाई चिर्नपनि मोर्चाले अग्रणी भूमिका खेल्ने साहको भनाई छ ।
६ भदौ २०८३, शनिवार १७:५३ बजे प्रकाशित













