नेपाली समाजमा व्यक्ति हावी भए, संस्था बलियो बनाऔं : प्रवल थापा
२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यका उम्मेदवार प्रवल थापाले नेपाली समाजमा व्यक्ति हावी भएको र यस्तो प्रवृतिमा सुधार हुनुपर्ने बताएका छन् ।
समाजमा संस्था बलियो बनाउने भूमिका राजनीतिक दलहरूले खेल्नुपर्ने र यसकै निम्ति आफू केन्द्रीय सदस्यका उम्मेदवार भएको बताएका छन् ।
१५ औं महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । थापाले खुला तर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी दर्तापछि उनलाई पत्रकारहरूले के कस्ता एजेण्डा छन् ? उम्मेदवारी किन ? भनेर सोधेका थिए ।
जवाफमा नेता थापाले भने, ‘अहिले नेपाली समाजमा व्यक्ति हावी भएको देखिन्छ । कांग्रेस पार्टी संस्थालाई बलियो बनाउनुपर्छ भन्ने पार्टी हो । व्यक्तिको पपुलिजम नभएर आइडोलोजिकल्ली र संस्थागत रुपमा कसरी बलियो बनाउने भनेर ध्यान दिनुपर्छ । यसमा काम गर्ने ध्यय छ ।’
यी कार्य गर्नका निम्ति पार्टीमा युवा नेतृत्व चाहिने पनि उनले बताए ।
उनी थप्छन्, ‘केन्द्रीय स्तरमा युवा गइसकेपछि निर्णयक भूमिकामा पुग्छन् र देशलाई सुशासनको दिशामा अगाडि बढाउने भूमिका पनि खेल्छन् ।’
कांग्रेसले नवयुवालाई समेत क्लस्टर नै बनाएर केन्द्रीय समितिमा समेट्दैछ ।
युवा नेतृत्वमा आउँदै गर्दा पनि समाज बुझ्न र नेतृत्व लिन सक्ने क्षमताको विकास गर्न सक्ने वा गरेको हुनुपर्ने उनको आग्रह छ ।
उनी आफैँ भने विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा सक्रिय भएका नेता हुन् । थापा तरुण दल, जिल्ला कार्यसमिति, केन्द्रीय तरुण विभाग, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको जिम्मेवारी हुँदै केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएका हुन् ।
पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त सल्लाह र सुझावका आधारमा आफूले निर्णय लिएको बताएका छन् । पार्टी संगठनलाई थप प्रभावकारी बनाउने र निरन्तर क्रियाशील नेता–कार्यकर्ताको सम्मान तथा हकहितका लागि काम गर्ने पनि उनको प्रतिबद्धता छ ।
१५औँ महाधिवेशनअघि भएको काठमाडौं क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनबाट थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । खुलातर्फ उनले १७१ मत पाउँदै सर्वाधिक मत प्राप्त गरेका थिए ।
यसअघि पनि उनी महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि रहिसकेका छन् ।
काठमाडौंमै जन्मिएका थापा बानेश्वर क्षेत्रका स्थायी बासिन्दा हुन् । नेपालमै स्नातक तहसम्मको अध्ययन गरेका उनले अस्ट्रेलियाबाट एमबीए गरेका छन् । अध्ययनपछि स्वदेश फर्किएका उनी राजनीति, सामाजिक गतिविधि तथा व्यवसायमा सक्रिय छन् ।
थापा पिता प्रदीप थापा पनि राजनीतिमा थिए । नेता प्रदीप थापा पञ्चायतविरोधी आन्दोलनमा सक्रिय थिए । बाल्यकालमै पिताको निधन भएपछि प्रवल थापा आमाको संरक्षणमा हुर्किएका हुन् ।
प्रवल थापालाई कांग्रेसले २०८२ को प्रतिनिधिसभा निर्वाचनमा थापालाई काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको थियो । तर पराजित भए ।
२१ असोज २०८३, बुधवार २०:५१ बजे प्रकाशित












