चुनाव प्रभावित पार्ने उदेश्यले नगद वा जिन्सी लेनदेन गर्नेलाई १ वर्ष कैद
निर्वाचन आयोगका अनुसार चुनाव प्रभावित पार्ने उदेश्यले नगद वा जिन्सी लेनदेन गर्न हुँदैन । यस्तो गर्नेलाई १ वर्ष कैद, ५० हजार जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।
उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई उसको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि दबाब दिन हुँदैन ।
मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य दिन पाइँदैन । बकसको रुपमा नगद वा जिन्सी दिन, सार्वजनिक भोज आयोजना गर्न पनि पाइँदैन । मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न हुँदैन । चुनाव प्रभावित पार्ने उदेश्यले आयोजना गरिएको सार्वजनिक भोजमा मतदाता पनि सहभागी हुन हुँदैन ।
यस्तो कार्य गरेको पाइएको खण्डमा १ वर्ष कैद, ५० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने आयोगले जनाएको छ ।
१८ फागुन २०८२, सोमवार २३:४४ बजे प्रकाशित












