रास्वपाको आन्तरिक सर्भे : प्रत्यक्षमा ५० सिट र समानुपातिकमा ५० लाख मत आउने रिर्पोटिङ
एक चरणको देश दौडाह सकाएर रास्वपा दोस्रो र अन्तिम चरणको चुनावी रणनीतिमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ ५० सिट र समानुपातिकतर्फ ५० लाख मत आउने आँकलन गरेको छ । आन्तरिक सर्वेक्षणबाट यस्तो आँकलन गरिएको हो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट १६५ जना निर्वाचित हुन्छन् भने समानुपातिक तर्फबाट ११० जना चुनिन्छन् । रास्वपाले प्रत्यक्षतर्फ १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ भने समानुपातिकतर्फ ११० जनाकै नाम बुझाएको छ ।
२१ फागुनमा हुने निर्वाचनमा रास्वपा बालेन्द्र शाह (बालेन)लाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेर चुनावमा होमिएको हो । एक चरणको देश दौडाह सकाएर रास्वपा दोस्रो र अन्तिम चरणको चुनावी रणनीतिमा छ । देशभरको अवस्थाको मुल्यांकन गर्दै रास्वपाले प्रत्यक्षमा ५० सिट र समानुपातिकमा ५० लाख मत आउने आँकलन गरेको हो ।
अन्य दलहरू पनि आन्तरिक मुल्यांकनमा रहेका छन् । नेपाली कांग्रेसले गत चुनावमा भन्दा केही कम हुने अनुमान गरेको छ ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पहिलो दलको रुपमा आउने अनुमान रहेको बताएका छन् । तथापि, कांग्रेसको आन्तरिक सर्वेले गत चुनावमा भन्दा १० देखि १५ सिट कम हुने देखाएको छ । २०७९ को चुनावमा कांग्रेसले ८९ सिट जितेको थियो ।
नेकपा एमालेले विगतमा भन्दा झण्डै आधा सिट घट्ने अनुमान गरेको छ । रास्वपालाई मुख्य चुनौती मानेको एमालेले समानुपातिकमा २० लाख मत आउने अनुमान गरेको छ । रास्वपा र कांग्रेसका सभापति गगन थापा मधेश झरेपछि माहोल बदलिएको बुझाइमा रहेको एमालेले प्रत्यक्षमा समेत गरी चुनावपछि प्रतिनिधिसभामा एमालेको ३० देखि ४० सिट मात्रै रहने रिर्पोटिङ छ ।
नेपाली कम्युनिस्ट पार्टीले विगतको सिट जोगिने अनुमान गरेको छ । गत निर्वाचनमा तत्कालीन माओवादी केन्दको ३२ सिट रहेको थियो भने तत्कालीन नेकपा एकीकृत समाजवादीको १० सिट थियो । यसपटक ४२ भन्दा बढी सिट जित्ने उसको आन्तरिक सर्वेक्षण छ ।
अर्थात, रास्वपा ठूलो पार्टी बन्ने आन्तरिक सर्वे अन्य पार्टीहरूको पनि छ ।
रास्वपा नयाँ राजनीतिक दल हो, जसले वैकल्पिक राजनीति, सुशासन र भ्रष्टाचारविरुद्धको एजेन्डालाई प्राथमिकता दिएको छ ।
यसको स्थापना २०७९ साल असार ७ गते भएको हो । यो पार्टीले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि भाग लिएको थियो । त्यसबेला २१ सिट जितेर संसद्मा चौथो ठूलो दलको रुपमा उदाएको थियो ।
यसले नीति–कार्यक्रम / एजेन्डा अन्तर्गत सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको संघर्ष गर्ने विषयलाई प्रमुखताका साथ राखेको छ ।
सरकारी कार्यालयमा पारदर्शिता र बिचौलियाको अन्त्य, सार्वजनिक सेवा डिजिटल / अनलाइन प्रणालीको प्रवद्र्धन, पुराना भ्रष्टाचारका घटनाहरूको पुनरावलोकन गर्ने प्रतिवद्धता जनाएको छ ।
मध्यम आयस्तरको आर्थिक लक्ष्य हासिल गर्ने स्पष्ट लक्ष्य राखेको चुनावी बाचापत्रमा उल्लेख छ ।
कर प्रणाली सुधार, रोजगारी सिर्जना, सामाजिक न्याय र समावेशी विकास,
आधारभूत जनसेवाहरू (शिक्षा, स्वास्थ्य) मा पहुँच विस्तारलाई यसले अगाडि बढाएको छ ।
१३ फागुन २०८२, बुधवार १३:३५ बजे प्रकाशित












