यी हुन प्रचण्डले ओलीलाई दिएका ८ नयाँ मन्त्री

प्रचण्डले पूर्वमाओवादीको तर्फबाट ८ जना व्यक्तिको नाम मन्त्री बनाउनका लागि ओलीलाई दिएका छन् ।
स्रोतका अनुसार प्रचण्डले पूर्वमाओवादीको तर्फबाट वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ र खानेपानी मन्त्री बिना मगरलाई मन्त्रीमा कायम राख्नका लागि आग्रह गरेका छन् ।
त्यस्तै नयाँ मन्त्रीका लागि प्रचण्डले पम्फा भुषाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव र देव गुरुङलाई सिफारिस गरेका छन् ।
बालुवाटार स्रोतले भन्यो, ‘प्रचण्ड कमरेडले ८ जनाको नाम दिनु भएको थियो । त्यसमध्ये प्रधानमन्त्रीले ४ जनाको हटाएर चार जनाको नाम थप्नका लागि आग्रह गर्नुभयो । प्रधानमन्त्रीज्यूले टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, लेखराज भट्ट र प्रभू साहको नाम थप्नका लागि आग्रह गर्नु भएको थियो ।’
ओलीले पूर्वएमालेका नेताहरुसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिरहेका छन् ।
स्रोतका अनुसार पूर्वएमालेका तर्फबाट महासचिव विष्णु पौडेल, उपाध्यक्ष बामदेव गौतमकी पत्नी तुल्सा थापा, भीम रावल, सुरेन्द्र पाण्डेलगायतलाई मन्त्री बनाउने विषयमा छलफल गरिरहेका छन् ।
सहरी विकास मन्त्री नबन्ने घोषणा गरेका पाण्डेलाई उपप्रधानसहित मन्त्री बनाउने विषयमा छलफल चलिरहेको छ ।
एक दुई दिनमा सहमति नभएमा तत्कालका लागि ओलीले तीनजना खाली ठाउँमा मन्त्री बनाएर दसैँ, तिहारपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने बालुवाटार निकट स्रोतको दावी छ ।
ओलीले पहिलो चरणमा कृषिमन्त्री घनश्याम भुषाल र शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई जसरी पनि हटाउने बताउँदै आएका छन् ।
यसैबीच नेकपाभित्रको विवाद फेरि बल्झिने संकेत देखिएको भन्दै पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधव कुमार नेपाल, स्थायी कमिटी सदस्यद्वय रावल र पाण्डेसँग हिजो आफ्नो निवासमा छलफल गरेका छन् ।
२२ असोज २०७७, बिहीवार १८:०९ बजे प्रकाशित