महेन्द्र शाहीविरुद्धको अविश्वास फिर्ता नभए पार्टीमा विग्रह हुने प्रचण्डको चेतावनी

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महेन्द्र शाहीविरुद्धको अविश्वास फिर्ता नभए पार्टीमा विग्रह हुने चेतावनी दिएका छन् ।
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेका प्रचण्डले कर्णालीका मुख्यमन्त्री शाहीवििरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव रोक्न आग्रह गरेका छन् । अन्यथा पार्टीमा विग्रह हुने चेतावनी दुबै नेतालाई प्रचण्डले दिएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा संसदीय दलको नेताबाट हटाउन आइतबार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
अध्यक्ष प्रचण्डले भने त्यसलाई रोक्नुपर्ने बताएका हुन् । अविश्वासको प्रस्ताव दर्ता हुने, मुख्यमन्त्री हट्ने कुराले राम्रो सन्देश जाँदैन’, प्रचण्डको आग्रह उदृत गर्दै बैठक स्रोतले भन्यो ।
बिहान खुमलटारमा भएको भेटमा प्रचण्डले वरिष्ठ नेता नेपालसँग पनि यस्तै भाषामा आग्रह गरेका थिए ।
नेता नेपालले भने आफ्ना पक्षका सांसदहरुलाई तत्काल अविश्वासको प्रस्ताव रोक्न निर्देशन दिएको जवाफ दिएका थिए । नेता नेपालले आइतबार नै कर्णाली प्रदेशका नेता र सांसदहरुलाई फोन गरेर निर्देशन दिएको बताएका थिए ।
प्रधानमन्त्री ओलीले भने अविश्वासको प्रस्तावबारे ठोस जवाफ नदिएको प्रचण्ड निकट स्रोतले बतायो ।
आइतबार नेकपाकै १८ सांसदले मुख्यमन्त्रीशाही विरुद्ध अविश्वासको प्रस्ताव पार्टी संसदीय दलमा बुझाएका छन् । ४० सदस्यीय प्रदेशसभामा नेकपासँग ३३ सांसद छन् ।
३३ मध्ये पूर्व माओवादीका १३, ओली खेमाका १२ र नेता नेपाल खेमाका आठ सांसद छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमा ओली तर्फका आठ, नेता नेपाल तर्फका सात सांसद र पूर्व माओवादीका तीन सांसद छन् ।
प्रचण्ड आत्तिए, कर्णालीको अविश्वास प्रस्ताव रोक्न ओली-नेपालसँग आग्रह
२६ असोज २०७७, सोमवार १४:२८ बजे प्रकाशित