केपी ओलीका डाइहर्ट फ्यानले चलाउँछन अब ‘नयाँ एमाले’
निर्वाचन आयोगमा एमाले नाममा नयाँ पार्टी दर्ता
निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी नेकपा निर्माण भएको छ ।
नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेकपाभित्र हलचल नै उत्पन्न भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोप प्रचण्डसहितका नेताहरुले लगाएका थिए ।
निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।
नयाँ एमाले चलाउनेहरु केपी ओलीका डाइहर्ट फ्यान !
नेकपा एमाले दर्ताका गर्ने व्यक्तिहरुको सूचीमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसद महेश बस्नेतसँग निकट व्यक्तिहरु छन् ।
युवा संघका पूर्वनेता बस्नेतका हातबाट टीका थापेका र केपी ओलीसँगै तस्वीर खिचेका व्यक्तिको नामसमेत नयाँ एमालेको सूचीमा छ ।
प्रदेश २ का सचिवका रुपमा रौतहट घर भई भक्तपुर बस्ने जयराम राउतको नाम छ । उनी महेश बस्नेतका कार्यकर्ता हुन् । उनले आफ्नो फेसबुकमा ‘आई एम विथ महेश बस्नेत’ भनेर तस्वीर राखेका छन् । साथै उनले महेश र केपी ओलीसँग तस्वीर पनि खिचाएको देखिन्छ ।
त्यसैगरी खोटाङ घर भएकी अस्मिता सुनारलाई नयाँ एमालेको प्रदेश १ सचिवका रुपमा राखेर निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ । अस्मिता पनि महेश बस्नेतले टीका लगाइदिएकी कार्यकर्ता हुन् ।
आयोगमा दिइएको आवेदनमा नेकपा एमालेको उपाध्यक्ष रहेकी भगवती खड्का पनि केपी ओलीको फ्यान रहेको मदन भण्डारीको जयन्तीका दिन फेसबुकमा लेखिएको स्टाटसले स्पष्ट पार्छ ।
नयाँ एमालेकी उपाध्यक्ष भगवतीले लेखेकी छिन्, नयाँ पार्टी दर्ताकै दिन लेखेकी छिन्, ‘कुर्सीको लागि हैन, देशको लागि ओली चाहिन्छ । सत्ताको लागि हैन, देश बचाउन ओली चाहिन्छ । पदको लागि हैन, विकासको लागि ओली चाहिन्छ । भारतीय विस्तारवादलाई तह लगाउन ओली चाहिन्छ । देशको सान मान र इज्जत हाम्रो बा केपी ओली जिन्दाबाद’

पूर्वमन्त्री एवं सांसद महेश बस्नेत केपी ओली निकट नेता हुन् । तर, उनका गतिविधिले प्रधानमन्त्री ओलीलाई बेलाबखत विवादमा पार्ने गरेको छ । अघिल्लो महिना पूर्वआइजीपी सर्वेन्द्र खनालको समेत मिलेमतोमा सांसद बस्नेतले मधेसबाट समाजवादीका सांसद सुरेन्द्र यादवलाई गाडीमा हालेर काठमाडौं ल्याएका कारण प्रधानमन्त्री ओलीले गम्भीर आलोचनाको सामना गर्नु परेको थियो ।
अहिले पनि सांसद बस्नेतसँग निकट रहेका कार्यकर्ताहरुले नै नेकपा एमाले दर्ता गरेर पार्टीभित्रको विवादमा आगोमा घ्यु थप्ने काम गरेका छन् । केपी ओलीलाई बा भन्ने र सँगै तस्वीर खिचाउनेहरुले नै नेकपा दर्ताका लागि निवेदन दिनुले आशंका जन्माएको नेकपा नेताहरु बताउँछन् ।
प्रधानमन्त्री भेटघाट
बुटवलतिर घर भई हाल काठमाडौं बस्ने सुमन पुरी ज्याक युवा संघका कार्यकर्ता हुन् ।
लकडाउनमा झयाप्प दाह्री पालेका उनले केही समय अघि प्रधानमन्त्री केपी ओलीसँग भेट गरे ।
प्रधानमन्त्रीसँगको भेटपछि ज्याकले फेसबुकमा फोटो पोस्ट गर्दै यस्तो लेखे– ‘विरोधीले प्रहार गरेको ढुंगा जम्मा गरेर पर्खाल बनाउन सक्ने राजनेतासँगको भेटपछि झन् आत्मबल बढेर आयो । कुनै तागतले हटाउन सक्दैनौ भन्ने कुरा हेक्का राख ।’
प्रधानमन्त्रीसँगको ज्याकको भेट र उनको स्टाटस आफैंमा महत्वपूर्ण कुरो होइन ।
तर, प्रधानमन्त्री ओलीले बालुवाटारमा जुन महत्व दिएर ज्याकहरुलाई भेट्छन् र पार्टीका अरु नेताप्रति उनीहरुले कस्तो प्रकारको विष वमन गर्छ भन्ने उदाहरण हेर्दा मानिसहरुलाई उदेक लाग्न सक्छ ।

३ भदौ २०७७, बुधवार १८:५१ बजे प्रकाशित





