एएफसी थ्रीस्टार, नागावल्र्डसंग बराबरीमा रोकियो

काठमाडौँ, ७ भदौँ । एएफसी कप फुटबलको प्लेअफ छनौटमा नेपालको थ्री स्टार क्लवले कम्बोडियाको नागावल्र्ड क्लबसंग बराबरी खेलेको छ । बराबरीसंगै थ्रीस्टार समुहको विजेता बनेर अघिल्लो चरण जाने सम्भावना बलियो भएपनि निर्णायक बनाउन भने सकेन । अब थ्रीस्टारले अघिल्लो चरण प्रवेशका लागी मंगोलियाको इर्चिम र कम्बोडियाको नागावल्र्डबीच हुने खेलमा भर पर्नुपर्नेछ । इर्चिम र नागावल्र्डबीचको खेल पर्सी बिहीबार हुने छ । पर्सी हुने यी दुईबीचको खेलमा इर्चिमले नागावल्र्डलाई बराबरी वा पराजित गरे थ्रीस्टार स्वतः अघिल्लो चरण प्रवेश गर्नेछ ।
आज मंगोलियाको उलानबटारस्थित मंगोलियन फेडेरेशनको मैदानमा भएको खेलको २८ औँ मिनेटमा सभारानको गोलबाट नागावल्र्डले शुरुवाती अग्रता लिएको थियो । गोल खाएपछि निकै दबाबमा आएर खेलेको थ्रीस्टारले खेलको अन्त्यतिर विदेशी खेलाडी मार्टिनको गोलबाट बराबरी गरेको थियो । नेपालले बराबरी गोल फर्काएपछि विवाद गर्न खोजेको भन्दै नागावल्र्डका गोलकिपरलाई रेफ्रीले रातो कार्ड दिएका थिए । १० खेलाडीमा सिमित भएको नागावल्र्डलाई अन्तिम ७ मिनेटमा थ्रीस्टारले निरन्तर पोष्ट चार्ज गरेपनि पराजित गर्न भने सकेन ।
आइतबार भएको पहिलो खेलमा आयोजक मंगोलियाको इर्चिम फुटबल क्लबलाई २–० ले पराजित गरेको थियो । एकमा जित र एकमा बराबरी खेलेको थ्री स्टार ४ अंकका साथ समुह बी को शीर्ष स्थानमा छ भने नागावल्र्ड १ अंंकका साथ दोश्रो र अहिलेसम्म कुनै अंक जोड्न नसकेको आयोजक इर्चिम पुछारमा छ । तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोली सहभागि छन् । गत बर्ष राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारले एएफसी कपको प्लेअफ छनोटमा नेपालको प्रतिनिधित्व गरेको हो ।
७ भदौ २०७३, मंगलवार १५:५६ बजे प्रकाशित