क्रिकेटरको वर्गीकरणमा खेलाडी संघको असन्तुष्टि,

क्रिकेट खेलाडी संघ नेपाल सिप्यानले सन् २०२० का लागि गरिएको नेपाली राष्ट्रिय महिला तथा पुरुष क्रिकेटरको वर्गीकरणमा असन्तुष्टि व्यक्त गरेको छ।
नेपाल क्रिकेट संघ क्यानको गत असोज ६ गते भरतपुरमा बसेको बोर्ड बैठकले १९ जना महिला र १८ जना पुरुष खेलाडीलाई तीन ग्रेडमा वर्गीकरण गर्दै मासिक तलब दिने निर्णय गरेको थियो।
वर्गीकरणमा राष्ट्रिय टिमबाट खेलेका केही खेलाडी पनि छुटेका थिए भने कतिपय खेलाडीको वर्गीकरणमा विभेद देखिएको थियो। वर्गीकरणमा त्रुटि भएपछि सिप्यानले आइतबार क्यान र राष्ट्रिय खेलकुद परिषद्लाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण भएको जनाएको छ।
केही निर्णयहरूमा भने क्रिकेट खेलाडीहहरूबाट प्राप्त अनुरोधका आधारमा पुनर्विचार गर्नुपर्ने आवश्यकता महशूस भएको हुँदा यसमा उचित सम्बोधनका लागि त्यस संघको ध्यानाकर्षण गराउन चाहन्छु । सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले बुझाएको ज्ञापन पत्रमा भनिएको छ।
सिप्यानले सन् २०२० का लागि पुरुष र महिला क्रिकेट खेलाडीलाई गरिएको वर्गीकरणको आधारमा थप प्रष्टता हुनु पर्ने बताएको छ।
वर्गीकरण जस्तो महत्वपूर्ण विषयवस्तुलाई पारदर्शी रूपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गरिनु क्रिकेट विकासका लागि जरुरी छ। यसलाई तर्कसम्मत र त्रुटी रहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता देखिएको छ, सिप्यानको पत्रमा उल्लेख छ।
क्रिकेट खेलाडीको आयस्रोतलाई व्यवस्थित बनाउन र खेलाडीको मनोबल उच्च बनाइराख्न न्यायसंगत ढङ्गले समयसापेक्ष कुनै विभेदको अनुभूति हुने वातावरणलाई निरुत्साहित पर्ने सिप्यानको भनाइ छ।
यस्तै पुरुष र महिला क्रिकेट खेलाडीको जीवन बीमा र दुर्घटना बीमा गर्नका आवश्यक पहल गर्नु खुसीको कुरा भएको बताउँदै सिप्यानले बीमामा समावेश गरिने खेलाडीको दायरालाई फराकिलो बनाइनु पर्ने माग गरेको छ।
११ असोज २०७७, आइतवार १७:२९ बजे प्रकाशित