नेपाललाई तीन स्वर्णसहित ११ पदक

फिलिपिन्समा भएको अन्तर्राष्ट्रिय भर्चुअल कराते च्याम्पियनसिपमा नेपालले ३ स्वर्णपदकसहित ११ पदक हात पारेको छ ।

तीन दिनसम्म फिलिपिन्समा भएको च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, समान ४–४ रजत र कांस्य पदक हात पारेको हो ।

नेपालकी सुविता गौतम, अनुभा मगराती र जुलिएना मोक्तानले स्वर्णपदक जितेकी हुन् । यस्तै, दिप्सन सापकोटा, नान्सी क्षेत्री, रिना श्रेष्ठ र अनुराग पान्डे क्षेत्रीले रजत पदक हात पारे ।

रुद्राक्ष देवकोटा, सुविता गौतम, प्रार्थना अग्रवाल र जेमिन महर्जनले कांस्य पदक पाए । सुविताले यू–१२ गल्र्स कातामा नेपालकै नान्सी क्षेत्रीलाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।

अनुभाले यू–१७ गल्र्स कातामा फिलिपिन्सकी जोअन्ना प्याट्रिसियालाई पछि पार्दै स्वर्ण हात पारेकी हुन् ।

यस्तै, जुलिएना मोक्तानले मकाउकी केली टम हेइ तोङलाई पछि पार्दै स्वर्ण जितिन् । यू–९ ब्वाइज कातामा दिप्सन घरेलु खेलाडी फ्रान्सिससँग पछि पर्दै रजतमै सीमित बने ।

सिनियर महिला कातामा रिना श्रेष्ठ स्विडेनकी नोभा पेर्निटानसँग तथा यू–१७ ब्वाइजमा अनुराग फिलिपिन्सका जोसुवासँग पछि पर्दै रजतमा सीमित बने ।

तीन दिने च्याम्पियनसिपमा काता र कुमुते गरी ९ तौल समूहमा विभिन्न १४ राष्ट्रको सहभागिता रहेको रेफ्री रवि शाहीले जानकारी गराए ।

१३ भदौ २०७७, शनिवार ११:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु