पाटनमा आइसियूमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौँ उपत्यकामा कोरोना सङक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ । पाटन अस्पताल ललितपुरमा उपचाररत दुई जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत काठमाडौँकी ५१ वर्षीया महिला र भक्तपुरकी ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।
भक्तपुरकी महिलाको आईसीयूमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
उनी भदौ ८ गते उपचारका लागि भर्ना भएकी थिइन् ।
आईसीयूमा उपचाररत उनको बिहान ६ बजेर ४० मिनेटमा निधन भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अधिकृत उपेन्द्र अर्यालका अनुसार काठमाडौँकी ५१ वर्षीया महिलाको शुक्रबार राति करिब ११ बजे उपचारकै क्रममा निधन भएको छ ।
उनी गत साउन ३० गते पाटन अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।
१३ भदौ २०७७, शनिवार ११:५२ बजे प्रकाशित












