नेपालमा कोरोना संक्रमण घट्यो
जनस्वास्थ्यविद्हरु नेपालमा कोरोना संक्रमित घट्दै जानुका मुख्यतः चार कारण औंल्याउँछन्
पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । विस्तारै संक्रमितको संख्या घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।
संक्रमितको संख्यासँगै संक्रमण दर पनि घटेको छ । माघ ८ गते ५० प्रतिशत भन्दा माथि रहेको संक्रमणदर १६ माघमा २६ दशमलव ९३ प्रतिशतमा झरेको छ । नेपालमा कोरोनाको तेस्रो लहरमा ६ माघमा २७ हजार ४ सय ९७ नमुना परीक्षण गर्दा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको थियो । जुन नेपालमा एक दिनमा देखिएको सबैभन्दा बढी संक्रमण हो ।
त्यसयताका दिनमा क्रमश माघ ७ मा १० हजार ७०३, माघ ८ मा १० हजार २५४, माघ ९ मा छ हजार ४६२, माघ १० मा १० हजार ३१९ र माघ ११ मा १२ हजार ८ जना, माघ १२ मा आठ हजार ४५४ र माघ १३ मा आठ हजार १७ जनामा संक्रमा पुष्टि भएको थियो । जनस्वास्थ्यविद्हरु नेपालमा कोरोना संक्रमित घट्दै जानुका मुख्यतः चार कारण औंल्याउँछन् ।
पहिलो– संक्रमितहरु परीक्षणको दायरामै नआउनु ।
दोस्रो– अधिकांश व्यक्तिहरु संक्रमित भइसक्नु ।
तेस्रो– संक्रमण उच्च विन्दुमा पुगेर ओरालो झर्नु ।
चौथो– एउटै भेरियन्टको व्यापकता र जनस्वास्थ्य मापदण्डको पालना ।
अनुसन्धान वैज्ञानिक तथा जीवाणुविज्ञ डा। सन्तोष दुलाल काठमाडौं उपत्यकाजस्ता बढी जनघनत्व भएका शहरमा बसोबास गर्ने ८० प्रतिशतभन्दा बढी मानिस संक्रमित भइसकेको दावी गर्छन् । ‘ओमिक्रोन बढी संक्रामक भएकाले दुईहप्ताको बीचमा धेरै मानिस संक्रमित भइसकेका छन्,’ डा। दुलाल भन्छन्, ‘कम जटिलता उत्पन्न गराउने भएकाले धेरै मानिसहरु परीक्षण नै नगरी घरमै बसिरहेका छन् ।’
अहिले मौसमी रुघाखोकी लाग्ने समय भएको र ओमिक्रोन भेरियन्ट संक्रमणको लक्षण पनि मौसमी रुघाखोकीसँग मिल्दोजुल्दो भएका कारण धेरै मानिसले परीक्षण नै नगराएका उनी बताउँछन् । ‘कोरोना परीक्षण गरिएकामध्ये ५० प्रतिशत संक्रमण पुष्टि हुनुले धेरै मानिसहरु संक्रमित भइसकेको देखाउँछ । घरमै बसेका धेरैले रुघाखोकी ठानेर परीक्षण पनि गरेका छैनन् । थोरै मानिसहरु मात्रै परीक्षणको दायरामा आएका छन्,’ डा। दुलाल भन्छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा। शेरबहादुर पुनले संक्रमित संख्या अहिले स्थिर रहेको तर्क गर्छन् । दुई हप्ता अगाडि लक्षण लिएर अस्पताल आउने संख्या उच्च रहेकामा हाल कम हुँदै गएको डा। पुन बताउँछन् ।
कतिपय संक्रमितले सूचीकृत प्रयोगशालाबाहेक अन्यत्र कोरोना परीक्षण गर्दा पनि त्यसको तथ्यांक सरकारी निकायमा पुगेको छैन । व्यक्तिगत रुपमा कोभिड–१९ परीक्षण गरेको रिपोर्ट सरकारी निकायलाई जानकारी नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। कृष्णप्रसाद पौडेल बताउँछन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सूचीकृत भएका प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किट प्रयोग गरेर भएको परीक्षणको मात्र स्वास्थ्य मन्त्रालयमा नतिजा पुग्छ ।
हिजोआज औषधि पसलमा पनि एन्टिजेन किट पाइने भएकाले धेरैले परीक्षण गरे पनि त्यसको नतिजा सरकारी निकायमा पुगेको छैन । त्यस्तै कतिपय घरमा सबै सदस्यलाई संक्रमण भए पनि एक जनाले मात्र परीक्षण गर्ने प्रचलन पनि देखिएको डा। पुन बताउँछन् ।
‘घरको एक सदस्यमा संक्रमण पुष्टि भएको खण्डमा अन्य व्यक्तिहरुले परीक्षण नै गरिएको पाइदैन’ डा। पुन भन्छन्, ‘संक्रमणको ट्रेन्ड हेर्दा अब यो भन्दा माथि ह्वात्तै बढ्ला जस्तो देखिँदैन ।’
२३ माघ २०७८, आइतवार १२:२५ बजे प्रकाशित