स्वागत छ प्रियसी……………..

पाती र खरेटोले दरबार बनाएको छु
स्वागत छ प्रीयसी तिमिलाइ
मेरो साम्राज्यमा,
तिमि झपक्क सजिएर
मीठो मुस्कानका साथ
भुलेर आफ्नो अतित
बिर्सेर आफ्नो भबिस्य
बन्द गरेर आफ्नो जिन्दगीको द्वार
धोतीले बेरेर बनाएको
द्वारको अगाडि आयर
टक्क उभिनु
म भित्र बाट
पैचोमा ल्याएको एक पाथी धान
टपरिमा राख्ने छु ।

एक मुठी चामल बोगतामा हाल्ने छु
र दुनोमा बत्ती बाल्ने छु पानी राखेर
चन्द्रको ज्योतिमा
तिमिले ती कोमल पदहरुले
त्यस्लाइ ढलाउनु
जसै समय ढलाउछ हरेक सुख र दुखहरु१
म झिङ्गटा बाल्छु
अनि तिमि हेर्नू
मेरो पाती र खरेटोको दरबारलाई
एकटकले नियालेर
जहा झुलहरु यत्र तत्र टागिएका छ्न
लहरहरु यत्र तर्त्र छ्न माटो र फोहोरका
तिम्ले देख्ने छै अजिबको संसार
जुन तिम्रो कल्पनामा समेत छैन
दरबार भित्रका हरेक सामाग्रीहरुले
तिमिलाइ गिज्याउन सक्छ
तिम्रो रुप देखेर सेरिन सक्छ
तिमी मन कसिलो बनाएर आउनु
सुन झै झपक्क बलेको मेरो दरबारमा
चोया ,छ्वाली हरु
खर र पातीहरु ती सुन भन्दा चम्किला छन
दिवारहरु रङ्गिन छ्न
बाँस र खरका रङंहरु उढेर
काहीँ कालो,काहीँ सेतो,काहीँ पहेलो त काहीँ प्याजी ।

तिमी सुटुक्क गएर बस्नु
त्यो मुठाका आमादायी खटिया माथि
मलाइ कुरेर
जहाँ स्वागरात मनाउदै छौ हामी
तिमीले लाजको घुम्टो उतारी राख्नु
आएर मेरो छेउमै बस्नु
म चादिका झै कचौरोमा
खोले र सिस्नु पस्कुला एउटै भाडामा
म लिएर पनि आउला कहिले तिम्रो सयन कक्षमै
यी चौरासीब्यञ्जन
हातमा एक ढिको नुन सहित
मीठो मानेर खाउला
रमाउला एक अर्कामा
समाउला एक अर्काको हात
हराउला एक अर्कामा
यसै गरि मनाउला हनिमुन पनि
यसै गरि कटाउला जीवन पनि
तिमी ननिसासिनु, न आतिनु
हामि हातमा हात मिलाएर हिडौला
काधमा काध जोरौला
प्रीयसी,
तिमिलाइ मेरो दरबारमा कुनै कुराको
कमि हुन दिने छैन म
भएका जतिमा ।
यसै गरि बाचुला
सधै हामी
खुसी सङ आफ्नै संसारमा
एक अर्काको लागि
तिमिलाई स्वागत छ प्रियसी
मेरो मनको महलमा
मेरो सपनाको संसारमा
मेरो दरबार मा
फेरि एक पटक
स्वागत छ प्रीयसि तिमिलाइ
मेरो आफ्नै साम्राज्यमा।

  • ईश्वर मैनाली

२७ माघ २०७२, बुधवार ०६:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु