धुर्मुस-सुन्तलीद्धारा ‘म त मर्छु कि क्या हो’ फिल्मको ट्रेलर सार्वजनिक (भिडियो सहित)
१४ साउन, काठमाडौं । कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ तथा कुञ्जना घिमिरे ‘सुन्तली’ को नयाँ फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ ।
सुविहानी फिल्म्सको ब्यानरमा निर्माण गरिएको उक्त फिल्मको तीन मिनेट लामो उक्त ट्रेलरमा वैवाहिक जीवनमा आउने उचाव-चढावलाई प्रस्तुत गरिएको छ ।
फिल्ममा सिताराम र कुञ्जना ‘मेरी बाँस्सै’ टेलिसिरियलमा निर्वाह गरेको धुर्मुस-सुन्तलीकै भूमिका र गेटअपमा देखिएका छन् । यो फिल्मलाई तराईका विभिन्न स्थानमा सुदीप बरालले छायांकन गरेका हुन् ।
फिल्मको लेखन र निर्देशन धुर्मुस-सुन्तलीले संयुक्त रुपमा गरेका हुन् । फिल्मको पटकथा तथा संवाद पनि धुर्मुस र सुन्तलीले नै लेखेका छन् ।
यो फिल्ममा धुर्मुस र सुन्तलीसँगै बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, प्रमिला खनाल, सुनिता घिमिरे, पुष्प आचार्य, सुशिला थापा आदि कलाकारले अभिनय गरेका छन् ।
फिल्मका गीतमा राजेन्द्र बजगाईंको संगीत तथा रचना रिमाल र भक्त प्रधानको पाश्र्व गायन तथा लोकराज अधिकारीका शब्द सुन्न सकिन्छ ।
मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा स्वेत्ना योञ्जनको कोरियोग्राफी छ । प्रारम्भमा श्रृंखलाको ‘म त मर्छु कि क्या हो’ को निर्माण गरिए पनि मेकिङ उत्कृष्ट भएपछि यसलाई फिल्मको रुप दिइएको बताइनछ ।
यो फिल्म यो फिल्म आगामी भदौ ११ गतेदेखि ओटीटी प्लेटफर्म ओहो मुभिजमा हेर्न सकिन्छ ।यसअघि उनीहरुले ‘सेन्टी भाइरस’ शीर्षकको फिल्म निर्माण तथा अभिनय गरेका थिए । पछिलो केही वर्षदेखि धुर्मुस र सुन्तली भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा सक्रिय छन् ।
१४ साउन २०७८, बिहीवार १३:५० बजे प्रकाशित