कारको झोलुङ्गे पुल नजिकै रहेको माझीहरुको बस्ती अगाडि आइपुग्नै लाग्दा बिस्तारै गति कम भयो अनि सडकको दाहिने पट्टी ; नदि भएतर्फको ठूलो ढुङ्गाको छेउमै रोकियो। त्यसपछी गाडिबाट निस्किए बाबू सर!
नाम : बाबू माझी उर्फ काले उर्फ कान्छा
ठेगाना : युनिका अपार्टमेन्ट, काठमाडौ
उमेर : 24 बर्ष
शिक्षा : एस.एल.सि
नदि सुसाइरहेको थियो, आफ्नो घमण्ड देखाइरहेको थियो। अनि बाबू; ऊ पनि त्यो नदिलाई आफ्नो सम्पन्नता देखाइरहेको थियो, उसले चाहेमा त्यो नदिलाई नै आफ्नो बशमा राख्न सक्थ्यो।
बाबू गाडी’बाट झर्यो, उसका महंगा बुटहरुले भुइँका धुलाहरुलाई उडाइदिए। त्यो माझि बस्तिमा, त्यो गरिब बस्तिमा यी बुटहरुले अट्टहास हाँसो हाँसिरहेका थिए, एउटा व्यङ्ग्य गरिरहेका थिए। मात्र गरिब प्रती अनि गरिबी प्रती।
बाबू त्यो ठूलो ढुङ्गामाथी चढेर बस्यो, एउटा चुरोट झिक्यो अनि खल्तिको लाइटरले सल्कायो। चुरोट तान्दै उसले परिवेश नियाल्यो। उसको पहिलो नजर नदिमा पौडी खेल्दै गरेका बच्चाहरुमा गयो, दोस्रो नजर नदिमै माछा मारिरहेका वयस्क, तेस्रो पुलबाट दाउराको भारी बोकेर वारितर्फ आउँदै गरेका महिला अनि चौँथो छेउकै रुखको छहारिमा बसेर ख्वाङ ख्वाङ खोक्दै नदिमा एकटकले हेरिरहेका वृद्धमा।
उस्तै नै थियो परिवेश, उस्तै थिए अवस्था, उस्तै थिए दैनिकी; मात्र पात्रहरु परिवर्तन भएका थिए। सबै गरिब थिए; जन्मन्थे मर्थे । न त कसैका इतिहास थिए न त कसैको भविष्य। मात्र सबै वर्तमानमा विताइरहेका थिए। हिँडिरहेका त थिए तर एउटा अनिश्चित भविष्यतर्फको यात्रामा।
बाइसे चौबिसे राजाहरुले आधिपत्य जमाए, महाराजधिराजहरुले राज्य चलाए, राणाहरुले सत्तामा आफ्नो वर्चस्व कायम गरे, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र अझ संघियताको कुरा पनि चल्दै छ, तर यहाँ उस्तै छ। नदि बहिरहेको छ, हावा चलिरहेको छ, माझी सदियौँ देखि माछा मारिनै रहेका छ्न्, गरिबी उस्तै नै छ।
कोहि पहिचानको लडाइँमा छन्, कसैलाई आफ्नो जातको राज्य चाहियको छ, कसैलाई गोरै गोराको अनि कसैलाई कालै कालाको। लाम्चो नाक र थेप्चो नाकले पनि अब त फरक अर्थ राख्न थालिसक्यो। सुनिदैछ, यी माझिको पनि फरक राज्य हुँदैछ रे! तर मागेको कस्ले? यिनिहरु कसैलाई पत्तो छैन। पल्ला घरे काइँलो माछा मार्दै छ, ओल्लाघरे राते ढुङ्गा कुट्दै छ। तर माझिको राज्य र अधिकार प्राप्तिको लागि ठूलो संघर्ष चलेको छ रे, वार्ता भइरहेको छ रे! लेनदेन चल्दै छ रे !
चुनावको बेला सबैले पाँच पाँच सय रुपैयाँ र मासु खान पाएका थिए, त्यो बाहेक न त कसैले केही पाएका छन् न त ती खुवाउने मान्छेलाई नै चिनेका छन।
सिंहदरबारमा फोटाहरु थपिँदै गए, माझिहरुको राज्य बन्दै छ, कतै खुसियाली छ संविधान बनेकोमा अनि कतै आवेश छ, रिस छ, क्रोध छ किनकी माझिको अधिकार संविधानमा राखिएको छैन अरे। काठमाण्डुमा खोला किनारमा बस्ने सुकुम्बासीको लागि राहत छ रे, यहाँका माझि त सबै धनी छन, पुरै नदि छ खेती गर्न, सबैको जागिर छ माछा मार्ने।
उस्तै थियो यहाँ। बाबू’को आँखाले पनि उस्तै देख्यो। नदि पहिलेझैँ सुसाउँथ्यो, वच्चाहरु सधैँ यसैगरी पौडिँदै रमाउँथे, वयस्क पुरुषलाई खानेकुरा जुटाउनको पिर हुन्थ्यो, आइमाई मानिसलाई कसरी जंगलबाट बचेर घरसम्म आइपुग्ने भन्ने पिरलो हुन्थ्यो। पहिले पहिले कहिले राता तारा लगाउने बाट त कहिले राता तारा लगाउनेलाई खोज्दै आउनेबाट आफ्नो अस्तित्व लुटाउन बिवश हुन्थे यहाँका महिला। आजभोली पैसाको आडमा दम्भ देखाउनेहरुबाट डर छ। अनि वृद्ध भएपछी त्यही नदिमा मिसिने दिनको प्रतिक्षा गर्दै त्यही बुढो रुखको छहारिमा विताउँथे।
बाबूको यो ठाउँसँग गहिरो साइनो छ। यहि नदिमा डुबुल्की मार्दै उसले आफ्नो बाल्यकाल बिताएको छ। भलै ऊ टुहुरो थियो, पैसा के हो नबुझुन्जेल उसले साथीसँगी सँग हाँस्दै खेल्दै आफ्नो वाल्यकाल बिताएको छ। तर जब पैसा के हो बुझ्न थाल्यो, उसले यो ठाउँमा पीडा बाहेक केही पनि भेटेन। सबै गरिब मात्र थिए, गरिबी मात्र थियो।
धुवाँ र खरानी बन्दै उसको हातको चुरोट सकियो। ठ्याक्कै यो चुरोट जस्तै ऊ पनि सकिने थियो। एक भारी दाउरामा आफुलाई उसले बिलय गराउने पक्का थियो। उसका आँखाबाट तरक्क आँसु झरे, उसले रोक्नै सकेन। उसका बाबू र आमा दुबै जनाको यहि चुरोटको जस्तै अन्त्येष्टि भएको थियो, मात्र खरानी र धुवाँ बनेर सकिएका थिए। त्यसपछी न त उनिहरुको कतै सम्झना भयो न त कतै उनिहरुको पिडाको कहानी सुनाइयो।
रुखको छ्हारिमा ती बुढा मानिस अझै बसिरहेका थिए। बाबू ढुङ्गाबाट ओर्लियो अनि ती बुढा मानिस नजिकै गएर शिर निहुराएर ढोग्यो। ती बुढा मानिसले बाबूलाई चिन्नै सकेनन्। आफैँले हुर्काएको ‘काले’लाई चिन्नै सकेनन्।
बाबूलाई सबैले काले भन्थे। काले काले वर्णको हिस्सी परेको थियो। ऊ माझिको सन्तान नभएर अरु कसैको सन्तान थियो तर ऊ अनभिज्ञ थियो आखिर उसका बा आमा को थिए। मात्र उसलाई स्मरण छ त उसले आफ्ना बा आमालाई आगो लगाइदिएको।
बा! म काले!
बुढाका आँखामा आँसु रसाए। उनले आफ्नो कालेलाई हेरे। महङ्गा कपडा, सुनको मोट्टो सिक्री, औँठी, हातमा घडी।
उनले के चिन्थे र त्यसको ब्रान्ड, के थाहा कति तोलाको हो। मात्र उनले देखे बाबू अब गरिब छैन। उनी बाबूलाई अङ्गालो हालेर रोइरहे मात्र।
बुढा निसन्तान थिए र एक्लो। छोराछोरि त जन्मिएका थिए, दुई छोरा एक छोरी। तर पनि उनी एक्लो भएका थिए। जेठा छोराले टाउकामा रातो तारा लगाएर क्रान्ति गर्न हिंडेको थियो। कान्छोलाई यहि त्रिशुलीले मुक्ति दियो। छोरी कसैबाट लुटिइ अनि मारिइ। यहि शोकमा श्रीमति आफ्नै काखमा निदाइ सदाको लागि। जेठा छोराको लास आफुले बोक्नै परेन, घरसम्मै ल्याइदिए, कान्छोलाई तीन दिनसम्म सबै माझिले खोजेर पत्तो लगाए, श्रीमति आफ्नै काखमा निदाइ। बुढा भाग्यमानी थिए, सबैलाई पालै पालो आफ्नै हातले जलाउँदै गए।
बुढा’बा को सहारा यहि काले बनेको थियो, तर कालेले पनि छोडेर गएपछी उनी सधैँ यहि त्रिशुलीमा आफुलाई बिलय गर्ने दिन पर्खेर बसेका थिए। नदिमा हाम्फालिहाल्ने मन पनि भएन, कहिँ कतै काले फर्किन्छ कि भन्ने आस बाकिँ नै थियो। र काले आज फर्क्यो पनि। तर साधारण काले होइन, पुरै गाउँको गरिबी मेटाउन सक्ने काले, दुनियाँ बुझेको काले, गरिब बेच्ने काले होइन गरिबी बेच्ने काले आएको थियो।
आइफोन सिक्स प्लसमा टोन बज्यो। कालेले फोन उठायो। फोनबाट आवाज आयो,
“गुड मर्निङ बाबू सर! कङ्ग्र्याचुलेसन सर, वि आर नाव रनिङ इन दि प्रोफिट अफ सिक्स करोर। आइ थिन्क वि व्लिल मेक टोटल प्रोफिट अफ टोवेन्टी करोर दिस यिएर।”
ओके गो अन। बट आइ विल बि आउट अफ रेन्ज फर ओन मन्थ्स। लुक एट एभृथिङ। बाइ। टेक केयर।
कालेले बुढा बा’लाई आफ्नो गाडिमा राख्यो र एकै छिन चौरमै घुमाइदियो। बुढा मख्ख परे। उमेरमा ठुला ट्रकहरुमा बालुवा लोड अनलोड गर्ने बेला बाहेक अरु गाडिमा नचढेका उनी आज बि.एम.डब्लु चढ्दै थिए। काले’ले गाडीलाई कुना तिर राख्यो। मोबाइल, घडी, पर्स, आफुले लगाएको कपडा सबै गाडिमा राख्यो , एउटा पोको झिक्यो, तीनवटा डायरी र पेन निकाल्यो अनि ढोका लक गर्यो। पोको खोलेर पुरानो कपडा लगायो, चप्पल लगायो। चप्पल सानो भयो, कपडा पनि ठिक भएनन्। बुढा बा जिल्ल परे। काले उस्तै देखिएको थियो जुन दिन काले घरबाट जङ्गल जान्छु भनेर निस्किएको थियो।
काले उस्तैगरि छिर्यो, जस्तो गरि निस्किएको थियो। निस्किँदा पचास रुपैयाँ लिएर निस्केको थियो र त्यही पचास रुपैयाँ अहिले उसले हातमा मुठ्ठयाइरहेको थियो। मात्र उमेर बढेको थियो, जुँगा थिएनन्, अहिले जुँगा मुठ्ठै थियो, काले थियो, गोरे भएछ ; अहिले तीनओटा डायरी र पेन सहित भित्र पसेको छ।
काले फर्केको गाउँभरी हल्ला फैलिएछ। सबैले कालेलाई हेरे, तर सबै कालेलाई हेर्न होइन, कालेको सम्पन्नता हेर्न आएका थिए। तर सबैले काले’लाई उस्तै देखे, गरिब नै देखे। सम्पन्नता मात्र मानसिकता हो भन्ने के बुझ्न सक्थे र ती अनपढ’हरुले।
घरमा खाने कुरा केही पनि रहेनछ। काले जाल बोकेर निस्कियो माछा मार्न। थोरबहुत माछा मारेर ल्यायो र त्यसलाई राम्रोसँग पोल्यो। बुढालाई पनि खुवायो र आफू पनि खायो।
राती बा काले’सँग भलाकुसारी गर्न थाले।
त कहाँ गएको थिस त? अनि के गरिस?
“दस वर्षको हुँदादेखि नै मलाई पैसाको अभाव महसुस हुन थाल्यो। तपाईंसँग पनि पैसा छैन भन्ने मलाई थाहा थियो। त्यसैले मैले पैसा कमाउने उपाय पत्ता लगाउन थालेँ। एकदिन स्कुलतिर गएको थिएँ म। त्यहाँ विद्यार्थीहरुले पसलमा गएर धेरै खानेकुरा खाइरहेको देखेँ। मलाई ती विद्यार्थीको पैसा कसरी तान्ने भन्ने सोच मनमा आयो अनि मैले पुस्टकारी बनाएर बेच्न थालेँ। स्कुलमा जान्थेँ, झ्याल बाहिर बस्थेँ, एउटा कापी र सिसा किनेको थिएँ। म बाहिरबाटै पढ्थेँ। एकदिन मलाई एकजना सरले भित्रै लानुभयो। अनि त्यो दिनदेखी म पढ्न थालेँ। मैले एक कक्षाबाट सुरु गरेँ तर छ महिनामै मलाई त्यही सरले दुई कक्षामा लानुभयो। मैले अरुभन्दा छिटो छिटो सिकेँ। मलाई भोक थियो सिक्न, तर अरु विद्यार्थी मन नभै नभै पनि आउँथे। म स्कुल सुरु हुनुभन्दा अगाडि, हाप छुट्टिमा अनि बेलुकी छुट्टिमा पुस्टकारी बेच्थेँ।
मेरा साथिहरु माछा बेच्थे, तर सबैले माछा बेच्दा कसैलाई पनि फाइदा हुँदैनथ्यो। मैले पुस्टकारी बेचेर आनन्दले खर्छ गर्न पुग्ने पैसा कमाउँथेँ। धनीको धनी मित्र बन्छ तर गरिबको गरिब सधैँ दुस्मन बन्छ। मेरा साथिहरु सबैले माछा मार्न छोडेर पुस्टकारी बनाउन थाले। एकदिन मेरो पुस्टकारी बिकेन। अनि मैले घाटा खाएरै भएपनी सस्तोमा बेचेँ। मैले सस्तोमा बेच्दा सबैले मसँगै किने। त्यसपछिका दिनहरुमा मैले साना पुस्टकारी बनाएर सस्तोमा बेच्न थालेँ। फेरि मेरा साथिहरुले मेरो नक्कल गरे। मैले फेरि अर्को उपाय लगाउनुपर्ने भयो। मैले गाउँ गाउँ घुमेर सस्तोमा अरुबेला चाहिने भन्दा धेरै सखर किन्न थालेँ। मसँग मेरा साथिहरुसंग भन्दा धेरै पैसा भैसकेको थियो। मेरा साथिहरुले मैले जति सस्तोमा बेच्न सकेनन्। अनि मेरो पुस्टकारी व्यापारमा एकलौटी चल्यो। तर मैले झन झन सस्तो गरेँ, अनि सस्तोमा पाइने लोभमा धेरै विद्यार्थीहरुले झन हौसिएर धेरै धेरै किन्न थाले। मैले त्यही पैसा तपाइँलाई दिन्थेँ।
म चौध वर्षको हुनुभन्दा एक दिन अगाडिसम्म मैले दैनिकी यहि पुस्टकारी बेच्ने नै थियो। एकदिन यहि नदि किनारको बाटो हुँदै एउटा कार आयो र रोकियो अनि त्यहाँबाट मानिसहरु निस्किएर पौडी खेल्न गए। त्यो कारमा एउटा सानी, राम्री, फुच्ची केटि पनि थिइ। ऊ चाहिँ त्यहिँ बसिराखी। किन किन मलाई उसँग बोल्न मन लाग्यो। त्यसैले पुस्टकारी बेच्ने निहुँ गरेर म गाडिको नजिक गएँ। उसले ऊ सँग पैसा नभएको कुरा गरि। मैले मसँग भएको सबै पुस्टकारी उसलाई दिएँ। ऊ मीठो मानी मानी खान थाली, म उसलाई हेरिरहेँ।
मैले उसको नाम सोधेँ।
मुस्कुराउँदै उस्ले भनी, “युनिका” !
पछि पौडी खेल्न गएका मानिसहरु फर्केर आए, उनिहरुमध्ये एउटिले छोरी भनेर सम्बोधित गर्यो। मलाई त्यो मानिस आफ्नो जस्तै लाग्यो। तर त्यो मानिसले मलाई गाली गर्यो। गरिब फोहोरी भनेर गाली गर्यो। अनि युनिकालाई त्यो पुस्टकारी पनि फ्याल्न लगायो।
मलाई पहिलोपटक म गरिब हुँ भनेर महसुस भयो। फोहोरी त म छँदै थिइन। मैले मसँग पैसा हुन थाले देखि नै राम्रो भएर हिँड्थेँ। मेरो गरिबी’ले मलाई फोहोरी पनि थपिदिएको थियो। मैले त्यो गाडीको नम्बर पढेँ। मैले अरु सबै बिर्सन सकेँ तर त्यो गाडी नम्बरले मेरो बिपना मात्र होइन सपना पनि बिथोल्न थाल्यो। उनिहरुले अन्तिममा बोलेको वाक्य याद आयो, ‘काठमान्डौ पुग्न कति समय लाग्छ’
त्यो घटनाको पन्ध्र दिनपछि म एकजना ट्रक ड्राइभरसँग काठमान्डौँ, गएँ। बुढा बुढा त्यो मान्छेले मलाई काठमान्डौ पुर्याइदिए अनि एउटा होटलमा राखिदिए। त्यहाँ मेरो नाम कान्छा भयो। म त्यहाँ भाँडा माझ्न थालेँ। म सबै काम राम्रोसँग गर्थेँ। पछि मैले कुकको काम गरेँ। मलाई त्यहाँ राम्रो तलब आउँथ्यो। मैले त्यहाँ काम गरेको एक वर्ष हुँदै थियो।
म किचनमा चिकेन चिल्ली बनाउँदै थिएँ। खै किन हो, त्यो चिकेन चिल्ली लिएर म आफैँ ग्राहककोमा गएँ। मलाई खै कस्तो कस्तो महसुस भयो। एकदमै खुसी जस्तो, के गरुँ के गरुँ जस्तो, एउटा उत्साह अनि एउटा निराशा। मैले चिकेन चिल्ली टेवलमा राख्दै गर्दा मेरा हात काँपे। मेरो मुखबाट अनायासै फुत्के , “युनिका”।
उसको कुनै रेस्पोन्स थिएन। अनि उसको बुबाले भनेको शब्द याद आयो, गरिब।
मैले त्यहाँ काम छोडेँ। मलाई मेरो पुस्टकारिको याद आयो। मैले त्यही होटल साहुलाई मिठाई पसल खोल्न आग्रह गरेँ, म उस्को लागि मिठाई पसलमा काम गर्ने कुता गरेँ, तर तलबमा होइन, फाइदाको प्रतिशतमा। उनले पसल खोले र हिसाब किताबको लागि छोरा राखे। सबै काम म गर्थेँ।
त्यहाँबाट मैले केही रकम जम्मा गरेँ, अनि म जस्तै अरुको ओर्कसपमा काम गर्ने केटाहरु जम्मा गरेँ र एउटा ओर्कसप खोलेँ। सबैले प्रतिशतमा पाउँथे। त्यसैले सबै मिलेर व्यापार राम्रो गर्दै थिए। तर मलाई एकलौटी चाहिएको थियो। त्यसैले मैले आफुले पाउने प्रतिश्त केही घटाएँ र आफू त्यहाँ काम नगर्ने जनाएँ। मैले अब त्यहाँबाट आफ्नो सेयर पाउथेँ। तर अब त्यहाँको व्यापार कम देखिन थाल्यो। तर मैले मतलब गरिन। मैले धेर थोर केही त पाइनै रहेको थिएँ।
मैले होटलमा काम गर्ने साथिहरुलाई भेला पारेँ र सबैलाई मालिक बनाउने कुरा गरेँ। सबै मख्ख परे, किनकी उनिहरु अब आफैँ साहु बन्दै थिए। त्यहाँ पनि मैले सबैसँग पैसा जम्मा गरेर होटल खोलेँ, सानो तिनो खाजा घर। केही समय काम गरेपछी आफुले त्यो ठाउँमा पनि काम गर्न छोडेँ। अब मलाई ओर्कसप र होटल बाट पैसा आउँथ्यो। म गरिब थिएँ, साथिहरु पनि गरिब नै थिए। खर्छ गर्ने ठाउँ नै थिएन। त्यसैले म एउटा पाउरोटी कारखानामा काम गर्न थालेँ। दिउँसो स्कुल पढ्न थालेँ, सत्र वर्षमा सात कक्षामा पढ्न थालेँ बिहान र बेलुकी पाउरोटी कारखाना मा। मलाई त्यहाँ कम तलब दिइएको थियो। त्यहाँ गरिब’हरु बेचिएका थिए, तर म जानी जानी बेचिएको थिएँ। मलाई सिक्नु थियो। दुई महिना जति त्यहाँ काम गरेपछी, त्यहिँकै शोषित अनि गरिब साथिहरुलाई लिएर आफ्नै कारखाना खोलेँ। त्यहाँको पनि बजार व्यवस्था मिलाएर मैले पाउने प्रतिश्त तोकेर मैले त्यहाँ जान छोडेँ। मैले कतै खर्च गर्नुपर्दैनथ्यो, सिवाय कपडामा। मैले त्यस्तै गरि कपडा पसल पनि खोलेँ। मैले खान्न लाउन बस्न केहिको पनि पैसा तिर्नुपरेन। आफ्नै होटेल थियो, आफ्नै कपडा पसल थियो। पछि मैले खोल्न लगाएको मिठाई पसल चल्न नसक्ने अवस्थामा पुगेपछी त्यो पसल मैले नै किनेँ, त्यहिँ काम गर्ने साथीसँग मिलेर। मेरा साथिहरुसँग पैसा हुन्थ्यो तर त्यत्तिकै बस्थ्यो। म बिना व्याजको पैसा लिन्थेँ। म नयाँ पसल खोल्न पुराना सेयरवाला साथिहरुसँग पैसा लिन्थेँ, तर मैले गरिरहेको काम कसैलाई पनि थाहा थिएन।
एकदिन मैले सबै साथिहरु भेला पारेँ। सबै गरिबहरुलाई मैले साहुजी बनाइदिएको थिएँ। अनि मैले खोलेका सबै पसल, उत्पादनका वस्तुको एउटै नाम राखेँ , सबैलाई एउटै घरमा सारेँ, अनि सबैसँग पैसा उठाएर त्यही नामबाट गाडी किनेँ।
एकदिन मैले सानो वच्चा देखेँ। ऊ कुनै घरानियाँ को वच्चा जस्तो देखिन्थ्यो। ऊ भोकले छट्पटिँदै थियो। मैले उसलाई खान दिएँ अनि आफैसँग राखेँ। म पत्रिका पढ्ने गर्थेँ। मैले पत्रिकामा वालक हराएको सुचना पढेँ। पछि उसको परिवारलाई जिम्मा लगाइदिएँ। वच्चाको बाउ काठमान्डौँका गन्य मान्य उद्योगी रहेछन। त्यो दिन बाट मैले ठुला मानिसको संगत गर्न थालेँ। उनले मलाई असाध्यै माया गर्थे। मैले उनबाट धेरै कुरा सिकेँ।
म अब बीस वर्षको भैसकेकोँ थिएँ अनि मेरो एस.एल. सि को पनि नतिजा आयो। म अझै पढ्न चाहन्थेँ तर मैले व्यापारमा ध्यान दिनुपर्ने भयो। डा.कृष्ण, उनै उद्योगीले मलाई आफ्नो व्यापारको हिस्सेदार बनाए। मैले उनको आर्थिक चुवावट व्यवस्थापन गरेँ। कामदारले बेला बेला निहुँ खोज्ने रहेछन। त्यसैले अब मैले नयाँ तरिका अपनाउनुपर्ने भयो। अब मैले पनि गरिबलाई बेच्नै पर्ने भयो। तर अरुको भन्दा राम्रो मोलमा।
मैले सडक बालबालिकालाई आफुसँगै राखेँ। त्यसको लागि काँठ क्षेत्र रोजेँ। त्यहाँ मैले सबैलाई खान लाउन दिएँ अनि साधारण लेख पढ सिकाएँ। सोर्ह सत्रका सबै बालबालिका लाई मैले काम सिकाएँ। जस्ले जे काम गर्न सक्छ उसलाई उहीँ काम सिकाएँ। अनि काम सिकेकालाई आफ्नो कम्पनिमा काम लगाएँ। डा.कृष्ण लाई थाहा नै थिएन यी मेरा उत्पादन हुन भनेर। म सबैलाई खान लाउन दिन्थेँ, राम्रो सँग राखेको थिएँ तर उनिहरुले पाउने पारिश्रमिक म आफैँ राख्थेँ।
मैले कृष्ण सर सँग काम गर्न छोडेँ तर मैले मेरो सेयर पाइरहेको थिएँ। अब मैले सबैतिरबाट पाउने पैसा जम्मा गरेर आफ्नो एकलौटी कम्पनी सुरु गरेँ। ‘युनिका’ गार्मेन्ट्स। त्यसपछी मैले सफल उद्योगी, व्यापारीहरुसँग सेयरिङमा काम गर्न थालेँ। यसबाट मैले हरेक क्षेत्रमा हात हालेँ। मैले जुन कम्पनिमा लगानी गर्थेँ, त्यसको आन्तरिक कुरा बुझेर म छुट्टै लगानी गर्थेँ। यसरी जुन कम्पनी चलेपनी मलाई फाइदै हुन्थ्यो।
मैले काम मा राखेको सबैलाई पछि मैले लगानी गराईदिएर व्यापार गराइदिएँ। उनीहरु सबै साहु बनेका छन। मैले भर्खर मात्र ‘युनिका’ अपार्टमेन्ट बनाएको छु। अब विदेशतिर पनि लगानी गर्ने सोच बनाएको छु।”
अब कति बस्छस त ?
म गरिबी बेच्न आएको बा।
यहाँका सबै गरिब अब आफ्नो मालिक आफैँ बन्नेछन् । यहाँका झुपडी हेर्न मान्छेहरु आउनेछ्न। हामिले खाने ढिडो र माछा खान पनि मान्छे आउनेछन। हामिले जस्तै माछा मार्न पनि मान्छे आउनेछन। तर सबैले पैसा तिर्नेछन। मात्र गरिब गरिब मिल्नुपर्छ। बिना पैसा पनि हामी धनी हुन सक्छौँ।
भोलिपल्ट उसले सबै माझिहरुलाई बोलायो। मुख्य सडक देखि त्यो बस्तीसम्मको बाटोको छेउछाउमा फुल र दुबो सार्न लगायो। विभिन्न जातका साना साना रुख पनि रोप्न लगायो। ती बाटोतिर भएका फोहोर, झाडी सफा गर्न लगायो। प्रत्येक घर रातो माटो र कमेरोले लिप्न लगायो। छेउछाउमा खरका छानो हालेर चिया पिउँदै सुस्ताउने ठाउँ बनाउन लगायो। दुई जना माझिलाई मात्र माछा मार्न लगायो। गाडी चलाउन जानेकाहरुलाई गाउँ गाउँ गएर कोदो र मकै संकलन गरेर ल्याउन लगायो। गाडी भाडामा अनि अन्न उधारो ल्याउन लगायो। बाबूको नाम लिएर ‘खाजा घर’ चलाउनको लागि चाहिने भाँडाकुडा केही महिला गएर उधारोमै किने। खाजा घर चलाउनेले दाउरा किन्नै पर्ने नियम बनायो। अनि कसैलाई जंगलबाट दाउरा खोजेर बेच्ने जिम्मा दियो। केही बच्चाहरुलाई ग्राहकलाई पौडिखेल्न सिकाउने काम लगायो। कसैलाई रक्सी बनाएर बेच्ने जिम्मा दियो। कसैलाई ‘होम स्टे’ संचालन गर्न अनुमती दियो। ठाउँ सफा गर्न दुईजना खटायो र त्यस्को पैसा सबै व्यवसायिले तिर्नुपर्ने बतायो। केहिलाई नजिकैको जङ्गल तिर पनि बाटो बनाउन लगायो, सफा गर्न लगायो। ठाउँ ठाउँमा माटोको बस्ने ठाउँ बनाउन लगायो। विषेश गरि जोडिहरुको लागि एकान्त ठाउँ बनाइदिएको थियो। पर्यटन मन्त्रालयमा सम्पर्क गर्यो र त्यहाँबाट दस लाख सहयोग पायो। एन.जि.ओ, गरिबी निवारण आयोग तिर पनि सम्पर्क गर्यो र टेलिभिजन, रेडियो तिर विज्ञापन गर्न लगायो। केही पाँच तारे होटलमा सम्पर्क गरेर आफ्नो ठाउँलाई पर्यटक रुट बनाउन सकिने बतायो। पत्रकार सम्मेलन गर्यो, व्यवसायीलाई घुम्न बोलायो, लोकल रक्सी, माछा, कोदोको ढिँडो खुवायो। स्विमिङ पुलको सट्टा पुरै नदिमा पौडी खेल्ने वन्दोवस्त मिलायो। उसले पुरै गाउँलेलाई व्यवसायी बनायो। झुपडिलाई पैसाको बोटमा परिणत गर्यो। लाजले लुकेर खाने गरेको कोदोको ढिँडोलाई खुवाउन मान्छे बोलायो। केही आर्टसहरुले होर्डिङ बोर्ड बनाइदिए, आफ्नो विज्ञापन गर्नको लागि। अनि ठुला ठुला पेय पदार्थका कम्पनिलाई ती क्षेत्रमा विज्ञापन गर्न सुझाब दियो, त्यसबाट थुप्रै पैसा उठाउन थाल्यो।
उसले त्यो क्षेत्रलाई तारबार लगायो। अब ती क्षेत्रमा अरुले प्रवेश गर्न पनि पैसा तिर्नुपर्ने नियम बनायो। आफुले भने अल्लि परतिर ठूलो होटल बनायो र ब्रान्डेड खुवायो। एक छाक ढिँडो खाएपछी भात खान उसकै तीन तारे होटलमा आइपुग्थे मान्छेहरु।
हरेक कुराको व्यापार हुन्थ्यो त्यो क्षेत्रमा। काँक्रो, माछा, बदाम, काफल, ऐसेलु,। सिजन अनुसार गाउँ क्षेत्रबाट फलफुल पनि ल्याउँथे। तर त्यो बस्ती बाहेकको मान्छेले त्यहाँ व्यापार गर्न पाउँदैनथ्यो।
उसले गरिबी देखाएर पनि पैसा कमायो। उसले गरिब बेचेन, मात्र गरिबी बेच्यो।
एकदिन फेरि आफ्नो बाबूआमा सम्झ्यो। अनि बा’सँग त्यसको बारेमा सोध्यो।
जुन कुरा बितिसक्यो, जसले तिम्लाई मात्र पीडा दिन्छ, त्यो कुरा कोट्ट्याएर किन दुखी हुन्छौ? रहस्य त जान्नु नै पर्छ। म वाचा गर्छु, म मर्नुभन्दा अगाडि तिमिलाई तिम्रो बाआमाको रहस्य सबै बताउँछु। तर अहिले यो नसोध मलाई।
बाबूले आफ्नो गरिबी मेट्यो, बस्तीकै गरिबी मेट्यो। अब अरुको जस्तो अस्तित्वहिनता उसको हुनेछैन। अब उसको ईतिहास हुनेछ, कथा हुनेछ, उसका पिडाहरु दुनियाँले पढ्नेछन्। किनकी ऊ धनी छ।
उसले आफ्ना डायरी मिलाएर राखेको थियो ; जसको बाहिर लेखिएको थियो ; ‘युनिका’ एक पागल प्रेमिको वकपत्र, अर्को डायरिमा ‘मेरा दुखका सहयात्री’ अनि अर्कोमा ‘धनी बाबू गरिब काले’
बाबू नदि किनारमा टहलाउँदै थियो। उसका नजर नदिका किनारमा छरपस्ट चप्पलहरुमा पर्यो। यो नदिमा कयौँका जीवनलिला समाप्त भएका थिए, कतिका कथाहरु अधुरै थिए होलान्, कतिका प्रेम कथाहरु अधुरै थिए होलान्। तर उनिहरु सँगै उनिहरुको कथा सक्कियो। तर बाबूको कथा त्यत्तिकै सकिने छैन। अब दुनियाँले सुन्नेछ ‘युनिका र बाबूको प्रेम कथा’ जुन बाबू र युनिका बाहेक अरुलाई थाहा छैन।
युवा कथाकार सशिल चालिसेका कथाहरु अब तपाईले नियमित रुपमा www.epublickhbar.com मा पढ्न सक्नुहुनेछ ।