माधवलाई ओली र प्रचण्डको अफर- तत्काल प्रधानमन्त्री बन्ने कि महाधिवेशनपछि अध्यक्ष ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपाललाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबाट फरक फरक अफर प्राप्त भएको छ ।
‘प्रचण्ड’सँग दूरी बढेसँगै ओलीले वरिष्ठ नेता नेपालसंगको सहकार्यलाई अगाडि बढाएका छन् । महाधिवेशनपछिको अध्यक्ष बनाउने प्रस्ताव ओलीको छ ।
स्रोतका अनुसार ओलीले भनेका छन्, ‘अब मिलेर जाऔँ, अबको नेता तपाईँ नै हो । पार्टी महाधिवेशनबाट तपाईँले पार्टीको नेतृत्व लिनेगरी सबै कुरा मिलाउनु पर्छ ।’
यता, प्रचण्डले आफु कार्यकारीसहित अध्यक्ष बनेर पार्टी हाँक्ने र माधव नेपाल नयाँ प्रधानमन्त्री बन्ने गरी अफर गरेका छन् ।
प्रचण्डले नयाँ प्रधानमन्त्रीमा माधवलाई अघि सारे, बामदेवको पनि समर्थन
निर्णायक नेपाल नै
आफूहरूका बीचमा कटुता बढेपछि दुवै अध्यक्षले वरिष्ठ नेता माधवकुमार नेपाललाई आ–आफ्नो पक्षमा राख्ने प्रयत्न गरेका छन् ।
गत साउन ९ गतेयता छलफल नगरेका प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच गत कात्तिक ४ गते र मंगलबार गरी दुईपटक संवाद भइसकेको छ । दुवै भेट प्रधानमन्त्री ओलीको चाहनामा भएको र ओलीले मिलेर अघि बढ्न प्रस्ताव गरेको नेपालनिकट नेताले बताए ।
‘अहिले कर्णाली प्रदेशको विवादमा ओली अल्पमतमा हुनुहुन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘आफूलाई अप्ठ्यारोमा पर्दा साथ खोज्ने र सजिलो हुँदा लात हान्ने उहाँको स्वभाव नै हो ।’
नेता नेपाल र अध्यक्ष दाहालबीच बिहीबार दिउँसो भएको संवादमा पनि ओलीले हेपाहा शैली अपनाएको र आफूहरूबीच फाटो ल्याउने प्रयत्न गरेको निचोड निस्किएको थियो । ‘उहाँको तरिका नै त्यस्तै छ, मलाई भेटे अर्को गलत भन्नुहुन्छ, अर्कोलाई भेटे मलाई गलत भन्नुहुन्छ,’ नेता नेपालले भने, ‘कोठाकोठामा बसेर किन नेता भड्काउनुपर्यो, पार्टीको बैठक डाकेर छलफल गरे भइहाल्यो भनिदिएको छु ।’
पछिल्लो समय ओलीले नेपाललाई आफ्नो पक्षमा लिन खोजे तापनि नेपालको सदाशयता भने दाहालतिरै देखिन्छ । दाहाल र नेपालबीच दिनदिनैजसो संवाद हुने गरेको उनीहरू निकटस्थको भनाइ छ ।
१४ कात्तिक २०७७, शुक्रवार १९:०८ बजे प्रकाशित