बामदेवलाई उधारो आश्वासन, खतिवडालाई चिठ्ठा- अब पुरै कार्यकाल अर्थमन्त्री !
विमला ढकाल
काठमाडौं । डा. युवराज खतिवडा पुरै कार्यकाल अर्थमन्त्री बन्ने बाटो खुला भएको छ ।
शनिवार सम्पन्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले बामदेव गौत्तमलाई प्रतिनिधि सभा सदस्य बनाउने निर्णय गरेसँगै डा. खतिवडाको पुरै कार्यकाल अर्थमन्त्री बन्ने बाटो खुला भएको हो ।
यसअघि नेकपाले गौत्तमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो । सोहीअनुसार गौत्तमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न सरकारलाई आग्रह गरेको थियो ।
तर, सरकारले गौत्तमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस नगरी बसेको थियो । र दुई वर्षे कार्यकाल सकिएका खतिवडालाई पुनः अर्थमन्त्रीमा पुनः नियुक्त गरेको थियो ।
६ महिना सांसद नभएपनि मन्त्री हुन पाउने तर, ६ महिनाभित्र सांसद हुनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार पुनः अर्थमन्त्री भएका खतिवडा अब पुरै कार्यकाल रहन सक्नेछन ।
अर्थात, नेकपाले वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय उल्ट्याएपछि खतिवडलाई चिठ्ठा परेको छ । अब पुरै कार्यकाल अर्थमन्त्री रहन सक्नेछन ।
जुन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि चाहना हो ।
२० वैशाख २०७७, शनिवार १५:४७ बजे प्रकाशित





