अस्थायी फ्लड लाइटलाई स्थायी बनाउन खेलाडीको माग

१९ चैत, इटहरी । विराटनगरमा शनिवार उदघाटन भएको विराट गोल्डकपको उदघाटन सत्रमा मनोरञ्जनात्मक नृत्य भइरहेको थियो । नृत्य सकियो । तर उनीहरु मैदानबाट बिदा भएनन् । बरु उनीहरूले लहरै उभिएर एउटा माग गरे– विराटनगरको अस्थायी फ्लड लाइटलाई स्थायी बनाइदेऊ ।

प्रदेशका मुख्यमन्त्री भीम पराजुली, प्रदेशका मन्त्री जीवन घिमिरे र महानगरका मेयर भीम पराजुलीलगायत उपस्थित कार्यक्रममा यो माग नृत्य कलाकारहरूले मात्रै राखेनन् । विराट गोल्डकपको गीत सुमित खड्काले गाइसकेर पनि चार बालकहरूले अस्थायी फ्लड लाइटलाई स्थायी बनाइ देऊ भनेर माग गरे ।

साँझ सकिन लाग्दा शहीद रंगशालाका फ्लड लाइटले उज्यालो दिइरहेको अवस्थामा राखिएका यी मागले रंगशाला तालीको गडगडाहटले गुञ्जियो ।

डे–नाइट फर्मेटमा काठमाडौंबाहिर पहिलोपटक फ्लड लाइटले खेल गराएको विराट गोल्डकप आयोजकले पनि अस्थायी फ्लड लाइटलाई स्थायी गर्न माग गरे ।

यो सबै सुनिसकेपछि वक्ताको रूपमा उदघाटन सत्रमा बोल्न आएका मुख्यमन्त्री शेरधन राई, मन्त्री जीवन घिमिरे र मेयर भीम पराजुलीले पनि आफूहरूले फ्लड लाइट स्थायी बनाउन सहयोग गर्ने वचन दिए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा एक अत्याधुनिक रंगशाला चाहिएकाले फ्लडलाइट बनाउनु कुनै समस्या नहरेको भन्दै सहयोग गर्ने वचन दिए । उनले भने, ‘हामी स्मार्ट सिटीसमेत बनाउने लक्ष्यमा छौं । यो फ्लडलाइट बनाउने कुरा कुनै ठूलो हैन । हामी बनाउँछौं ।’

सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफूले सक्दो सहयोग गरेर फ्लडलाइटलाई स्थायी गरेर सधैंभरि शहीद रंगशालामा डे–नाइट खेल गराउन सकिने तर्क गरे ।

मेयर भीम पराजुलीले विराटनगरले महानगर र अस्थायी राजधानी बनाउने सोच पूरा गरेको जस्तो फ्लडलाइट स्थायी गर्ने कुरा पनि पूरा हुने बताए ।

१९ चैत २०७४, सोमवार ०२:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु