बसेललाई हराउदै साख्तर सेमिफाइनलमा
जर्मनीमा मंगलबार राति भएको खेलमा साख्तरको फराकिलो जितमा जुनियर मोराइस, टाइसन, एलन प्याट्रिक र डुडुले गोल गरे ।
बसेलका रिक्की भान वल्सविन्केलले सान्त्वना गोल फर्काए । एकपक्षीय बनेको खेलको दोस्रो मिनेटमा नै जुनियरको गोलबाट साख्तरले खेलमा १–० को अग्रता बनाएको थियो । मार्लोसको पासमा जुनियरले हेडमार्फत गोल गर्न सफल भएका थिए ।
२२औं मिनेटमा टाइसनले मार्लोसकै पासमा गोल गर्दै साख्तरको अग्रता दोब्बर बनायो । टाइसनको प्रहार गोलरक्षक निकोलिकलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो । पहिलो हाफमा २–० को अग्रता बनाएको साख्तरले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल बेहोर्न पुगेको थियो ।
६२औं मिनेटमा बसेलले पेनाल्टीको अपिल गरेपनि भिएआरले मान्यता दिएन । डुडुले एफिमिको पुलुलुलाई फल गरेको भन्दै बसेलले पेनाल्टी अपिल गरेको थियो । ७४औं मिनेटमा एलान प्याट्रिकले पेनाल्टीमार्फत गोल गर्दै साख्तरलाई सहज जिततर्फ अघि बढाए । बसेलका मर्चन्डले टाइसनलाई फल गरेपछि रेफ्रीले साख्तरलाई पेनाल्टी प्रदान गरेको थियो ।
८८औं मिनेटमा डुडुले गोल गर्दै साख्तरको फराकिलो जित पक्का गरे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रिक्की भानले गोल गर्दै बसेलाई खेलमा फर्काउने संकेत दिएपनि खेलमा फर्कन निकै ढिला भएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा साख्तर ४–१ ले विजयी हुदै सेमिफाइनलमा पुग्न सफल भयो ।
अब साख्तरले फाइनल प्रवेशका लागि इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । इन्टर मिलानले जर्मन क्लब बायर लिभरकुसनलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।
२८ साउन २०७७, बुधवार ०६:५४ बजे प्रकाशित













