भारतीय क्रिकेटर श्रीसंतमाथि आजीवन प्रतिबन्ध हट्यो

भारतीय क्रिकेटर श्रीसंतले आफूलाई सर्वोच्च अदालतबाट ‘लाइफलाइन’ प्राप्त भएको बताएका छन् । जसका कारण आफू चाँडै नै क्रिकेट मैदानमा फिर्ता हुने पनि उनले बताएका छन् ।
भारतीय सर्वोच्च अदालतले शुक्रबार म्याच फिक्सिङ मुद्दामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड९बीसीसीआई० को अनुशासन समितिका तर्फबाट श्रीसन्तमाथि लगाइएको आजीवन प्रतिबन्ध हटाएको छ ।
केरल उच्च अदालतले बीसीसीआईले लगाएको प्रतिबन्ध सदर गरेको थियो । श्रीसंत केरल उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत गएका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश अशोक भूषण र केएम जोसेफको बेन्चले बीसीसीआईले तीन महिनाभित्रमा श्रीसंतमाथिको कारबाहीबारे सोच्न सक्ने बताएका छन् । अदालतले सजायको अवधि तोक्दै गर्दा श्रीसंतको कुरा पनि सुन्नु पर्ने बताएको छ ।
मैदान फर्कने आशा
सर्वोच्च अदालतको फैसलाप्रति खुशी प्रकट गर्दै श्रीसंत भन्छन्, ‘आजीवन प्रतिबन्ध हट्नु निकै खुशीको कुरा हो । सर्वोच्च अदालतले लाइफ लाइन दिएको छ । मलाई एउटा अवसर प्रदान भएको छ । म पुरै फिट छु । क्रिकेट मेरो रोजीरोटी हो । म फेरि खेल्न चाहन्छु ।’
सर्वोच्च अदालतले दिल्ली उच्च अदालतमा चलिरहेको आपराधिक मुद्दामा भने यो फैसलाले केही असर नगर्ने बताएको छ । उच्च अदालतमा दिल्ली प्रहरीले तल्लो अदालतको फैसलालाई चुनौती दिएको थियो । अदालतले सन् २०१३ को आईपीएलमा भएको म्याच फिक्सिङ मुद्दामा श्रीसंतसमेत सबै आरोपीहरुलाई रिहा गरेको थियो ।
श्रीसंत सन् २००७ को टी–२० विश्वकप र सन् २०११ को एकदिवसीय विश्वकप जित्ने भारतीय टिमका सदस्य हुन् । श्रीसंतले २७ टेस्ट म्याचमा ८७ तथा ५३ वान डे म्याचमा ७५ विकेट लिएका छन् ।
२ चैत २०७५, शनिवार १२:२४ बजे प्रकाशित