फिफाको निर्देशन नमाने नेपाली फुटबल प्रतिबन्दमा पर्नसक्ने
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनमा परिवर्तनको नारासहित अध्यक्षको प्रत्यासी बनेका कर्मा छिरिङ शेर्पाले नेपाली फुटबललाई ठूलो दुर्घटनाबाट जोगाउन यथासक्य चाँडो मिति तोकेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताएका छन्। शेर्पाले पूर्वनिर्धारित मिति चैत १४ गते निर्वाचन गराउन नसक्दा नेपाली फुटबल प्रतिबन्धको सँघारमा पुगेर जोगिए पनि अब निर्वाचन गराउन नसके प्रतिबन्ध पक्का रहेको धारणा व्यक्त गरे।
‘विभिन्न कारणले गर्दा यसअघि विश्व फुटबल महासंघ (फिफा)कै सहमतिमा तोकिएको चैत १४ गते निर्वाचन हुन सकेन। त्यस बेला राजधानीमा उपलब्ध मताधिकार सहितका ४७ प्रतिनिधिले निर्वाचन चाहन्छौं भन्ने बेहोराको ईमेल लेखेपछि मत्रै फिफाले यथासक्य निर्वाचनको नयाँ मिति तोक्न निर्देशन दिएको छ’, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शेर्पाले भने, ‘हामीले फिफाको यस पटकको निर्देशनलाई नमान्ने हो भने नेपाली फुटबल अब प्रतिबन्धमा पर्ने पक्का छ। त्यसैले अहिलेसम्म फिफाको प्रतिबन्धमा नपरेको नेपाली फुटबललाई त्यो दुर्घटनाबाट बचाउन चाँडै निर्वाचन गराउनु आवश्यक छ।’
भक्तपुरका क्लबहरूले जिल्ला फुटबल संघविरुद्ध जिल्ला अदालतमा दर्ता गरेको मुद्दा फिर्ला लिएपछि अब निर्वाचन प्रक्रिया अघि बढ्नेमा आफू आशावादी रहेको शेर्पाले बताए। ‘क्लबहरूले मुद्दा फिर्ता लिएपछि भक्तपुरमा निर्वाचन हुने बाटो खुलेको छ। भक्तपुरसहित मकवानपुरलाई समेत एन्फाले निर्वाचन गर्न निर्देशन दिएको अवस्थामा अब यो प्रक्रिया अघि बढ्ने देखिएको छ’, शेर्पाले भने, ‘यद्यपि निर्वाचन नचाहनेहरूले अझै पनि विभिन्न बहानामा यो प्रक्रिया रोक्ने प्रयास गर्ने सम्भावना छ। त्यसप्रति सबै सजग रहनु आवश्यक छ।’
यसअघि भक्तपुर र मकवानपुर जिल्लाको प्रतिनिधि छनोटमा देखिएको विवादसँगै एन्फाले दुवै जिल्लालाई निर्वाचनमा सहभागी हुन नदिने निर्णय गरेको थियो। सोही निर्णयविरुद्ध दुवै जिल्लाका पदाधिकारीहरूले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत ललितपुरले तत्काललाई चुनावका सम्पूर्ण काम स्थगित गर्न आदेश दिएको थियो। त्यससँगै चैत १४ गते हुने भनिएको निर्वाचन स्थगित हुन पुगेको थियो।
अदालतको आदेशसँगै एन्फाले निर्वाचन स्थगित गर्ने निर्णय गरेपछि फिफा र एसियाली फुटबल महासंघ (एएफसी)ले प्रतिबन्धको चेतावनीसमेत दिएको थियो। यद्यपि हालै मात्र एएफसीको प्रतिनिधिले नेपाल भ्रमण गरी नेपालको अवस्था बुझेर फिफाले यथासक्य नयाँ मिति निर्धारण गरी निर्वाचन गराउन आदेश दिएको छ। नेपाली फुटबल प्रतिबन्धमा पर्ने सम्भावना देखिएपछि भक्तपुरका क्लबहरूले जिल्ला संघविरुद्ध दायर गरेको मुद्दा फिर्ता लिएको घोषणा गरेका थिए।
मकवानपुरमा भने केन्द्रीय प्रतिनिधि गएका मणि कुँवर बीचैमा बाहिरिएपछि निर्वाचन भएको समितिलाई एन्फाले मान्यता दिन अस्वीकार गरेको थियो। अहिले यी दुवै जिल्लालाई पुनः निर्वाचन गराउन निर्देशन दिइसकेको छ। पत्रकार सम्मेलनमा शेर्पाले आफ्नो प्यानलबाट प्रतिस्पर्धामा उत्रनका लागि सबै उम्मेदवारको टुंगो लागेको समेत बताए। उम्मेदवारी दर्ता गर्दा अध्यक्षबाहेक निर्वाचन हुने सबै पदमा कोटाभन्दा बढीले उम्मेदवारी दिएका थिए। उपाध्यक्षमा राजेन्द्र न्यौपाने र किशोर राईले उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिए।
१९ चैत २०७४, सोमवार ०३:०५ बजे प्रकाशित













