फेरी स्थगित ! सातौँ राष्ट्रिय खेलकुद मङ्सिरमा नहुने
काठमाडौँ, १९ कात्तिक । आगामी मङ्सिर ११ गतेदेखि पूर्वाञ्चलमा हुने तय भएको सातौँं राष्ट्रिय खेलकुद प्रतियोगिता घोषित मितिमा नहुने भएको छ ।
समयमै बजेट निकासा नभएको, तराई मधेसमा जारी आन्दोलन र भारतले गर्दै आएको अघोषित नाकाबन्दीका कारण निर्धारित मितिमा प्रतियोगिता गर्न नसकिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए ।
“अहिले खेलकुद मन्त्री नियुक्त हुनुभएको छैन त्यसैले बोर्ड बैठकबाट आधिकारिक निर्णय गर्न सकिएको छैन, तर निर्धारित समयमा प्रतियोगिता हुँदैन”उनले भने।
नयाँ मन्त्री नियुक्त भएपछि प्रतियोगिताको नयाँ मिति तय गरिने उनको भनाइ छ । उनका अनुसार तराई मधेसमा जारी आन्दोलन र नाकाबन्दी तत्काल हटे आगामी पुस र मधेस बन्द रहीरहे फागुनसम्ममा प्रतियोगिता सम्पन्न गरिने उहाँले उल्लेख गरे ।
यसअघि मङ्गलबार विभिन्न राष्ट्रिय खेल सङ्घका पदाधिकारीहरुसँग भएको छलफलका क्रममा राखेपलाई अधिकांशले मुलुकको विभिन्न भागमा जारी बन्द, हड्ताललगायतका प्रतिकुल अवस्थामा सातौँ राष्ट्रिय खेलकुदको मिति सार्न सुझाव दिएका थिए ।
छलफलमा बक्सिङ, सुटिङ, पौडी, जुडो, भलिबल, ह्यान्डबल, बास्केटबल, फुटबल, लनटेनिस, हक्की, कुस्ती, आर्चरी, टेबलटेनिस, स्क्वास, भारोत्तोलन, ट्रयाथलन, ब्याडमिन्टन, खोखो, कबड्डी, एथलेटिक्स, उसुलगायतका सङ्घका अध्यक्ष÷प्रतिनिधिको उपस्थिति थियो ।
१९ कात्तिक २०७२, बिहीवार ०२:४६ बजे प्रकाशित