संरक्षक र मायाङ्का टेनिस च्याम्पियन

Samrakchan-and-mayankaकाठमाडौँ । संरक्षक भूषण बज्राचार्य र मायाङ्का राणा चौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा ‘च्याम्पियन’ बनेका छन् ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा आज भएको पुरुष एकलको फाइनलमा संरक्षकले कमलबहादुर भण्डारीलाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे ।  काठमाडौँ जिल्ला लनटेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताको महिला एकलको उपाधि भिडन्तमा मायाङ्काले जुम्ल्याहा बहिनी माहिकालाई ६–७, ६–२ र ६–२ ले हराइन् । मायाङ्काले यो लगातार दोस्रोपटक उपाधि जितेकी हुन् । पुरुष÷महिला एकलका विजेताले जनही रु २० हजार तथा उपविजेताले रु १० हजार पुरस्कार हात पारे ।  प्रतियोगितामा भेट्रान्ससहित विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । भेट्रान्स ५५ वर्षमाथि एकल र युगल तथा ६५ वर्षमाथि एकलमा बाहेक सबैमा नगद पुरस्कार राखिएको थियो । यो स्पर्धामा सबैको जोड्दा जम्मा रु दुई लाख नौ हजार नगद पुरस्कार बाँडियो ।  यसअघि पुरुष युगलमा कुमार अधिकारी र जीतेन्द्र परियार तथा मिक्स युगलमा संरक्षक र विभूति कार्कीको जोडी पहिलो भएका थिए । भेट्रान्स ३५ वर्षमाथि श्रीराम मगर, ४५ वर्षमाथि कृष्णराज घले, ५५ वर्षमाथि मनोज राणा तथा ६५ वर्षमाथि दीपकमान श्रेष्ठले शीर्ष स्थान हात पारेका थिए ।  त्यस्तै, युगलको ३५ वर्षमाथि राजु क्षेत्री र राजेश क्षेत्री, ४५ वर्षमाथि राजु र डेगेन्द्र थापा तथा ५५ वर्षमाथि मनोज राणा र छेम्बा डुन्डुपको जोडी ‘च्याम्पियन’ बनेका थिए ।  विजेतालाई राखेप सदस्य–सचिव केशवकुमार विष्ट, सिटिजन्स बैंकका अध्यक्ष डा शङ्कर शर्मा, अखिल नेपाल लनटेनिस सङ्घक अध्यक्ष ज्योति राणा, आयोजक सङ्घका अध्यक्ष मनोहरदास मुललगायतले पुरस्कार वितरण गर्नुभयो ।  भूकम्पको वार्षिकीलाई सम्झँदै वैशाख १२ गतेबाट सुरु प्रतियोगितामा १४ महिलासहित १५८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।  गत वर्षको भूकम्पले त्रिपुरेश्वरमा रहेको राखेपको कोर्टमा क्षति पुगेपछि प्रतियोगिताको चौथो संस्करण स्थगित भएको थियो । त्यो वर्ष वैशाख १३ गतेदेखि सुरु हुने गरी प्रतियोगिताको मिति तोकिएको थियो । यो पटक कोर्टको मर्मत सम्भार गरी प्रतियोगिता आयोजना गरिएको हो ।

१८ वैशाख २०७३, शनिवार १५:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु