श्रम आयोग गठन गर्न माग
काठमाडौँ । दश मजदुर सङ्गठनको संयन्त्र ‘संयुक्त टे«ेड युनियन समन्वय केन्द्र’ले श्रम आयोग गठन गर्नुपर्ने माग गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष खिलनाथ दाहालले संविधानमा धेरै आयोग गठन भए पनि श्रमिक वर्गको आधारभूत हकअधिकारका लागि गठन हुनुपर्ने श्रम आयोग गठन नभएको भन्दै तुरुन्त आयोग गठनको प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो । आफूहरुले माग गरेअनुरुप संविधानमा सामूहिक सौदाबाजीको अधिकार र सामाजिक सुरक्षाको प्रत्याभूति गरिए पनि राज्यका नीति निर्माणमा श्रमिकको १० प्रतिशित प्रतिनिधित्व, देश र विदेशमा कार्यथलोबाटै मताधिकारको माग पूरा नभएको उहाँले बताउनुभयो । श्रम ऐन र सामाजिक सुरक्षा ऐन लामो समयदेखि थन्किएको भन्दै तुरुन्त पारित गर्न केन्द्रले माग गरेको छ । केन्द्रले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पठाएको विप्रेषण र स्वदेशका श्रमिकको पारिश्रमिक सदुपयोग गरी जलविद्युत् तथा अन्य परियोजना प्रारम्भ गर्न माग गरेको छ । श्रमिकको न्यूनतम ज्याला वृद्धि गर्न, सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीको तलब, भत्ता तथा सुविधा समयानुकूल वृद्धि गर्न, कम आय भएका श्रमिकलाई राशन कार्डको व्यवस्था गर्नुपर्ने केन्द्रले तयार पारेको घोषणापत्रमा उल्लेख छ । वैदेशिक रोजगारीमा लागू गरिएको निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र अभिमुखीकरण तालिम सरकारी निकायबाटै मिलाउनुपर्ने घोषणापत्रमा उल्लेख छ ।
१८ वैशाख २०७३, शनिवार १५:४२ बजे प्रकाशित