युरोकपको दोस्रो क्वाटरफाइनलमा बेल्जियम र इटली भिड्दै

१८ असार, काठमाडौं । युरोकप अन्तर्गत आज राति हुने दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियम र इटली भिड्दैछन् ।  उपाधि दाबेदारसमेत मानिएका दुवै टिमको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे जर्मनीको म्युनिख एरेनामा शुरु हुनेछ ।

बेल्जियम र इटली दुवैले युरोकप २०२० को छनोट चरणमा शतप्रतिशत जित हात पारेका छन् । दुवैले छनोटमा खेलेका १० वटै खेल जितेका थिए ।  जारी युरोकपको समूह चरणमा पनि दुवैले खेलेका तीनवटै खेल जिते । अझ इटलीले कुनै पनि गोल बेहोरेन ।

फिफा वरीयतालाई हेर्ने हो भने बेल्जियम अहिले विश्व फुटबलको नम्बर वान टिम हो । अनि इटली सन् २०१८ सेप्टेम्बर यता अपराजित छ र अपराजित खेलको यात्रालाई ३१ पुर्‍याएको छ ।

युरोकपमा इटली र बेल्जियम चौथो पटक खेल्न लागेका हुन् । यसअघि तीन भेटमा इटली अपराजित छ । सन् १९८० को युरोको समूह चरणमा दुवैले गोलरहित बराबरी खेलेका थिए । २००० र २०१६ को युरोको समूह चरणमा इटलीले बेल्जियमलाई पराजित गरेको थियो ।

२०१५ को पछिल्लो मैत्रीपूर्ण खेलमा भने बेल्जियमले इटलीलाई ३–१ ले पराजित गरेको थियो ।

अहिलेसम्म २२ खेल हुँदा १४ खेल इटलीले जितेको छ भने बेल्जियमले ४ खेल जितेको छ । यस्तै ४ खेल बराबरीमा सकिएको थियो । १९७२ को युरोकपका लागि छनोटमा बेल्जियमले इटलीलाई हराएको थियो ।

१८ असार २०७८, शुक्रवार २०:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु