३-० ले जित्यो जोर्डनले, नेपालको लज्जास्पद हार
सोमबार राति कुवेत सिटीमा भएको खेलमा नेपालमाथि जोर्डनले ३-० गोलको जित निकालेको हो।
जोर्डनको जितमा फैसनले दुई गोल गरे। उनले खेलको २३ पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए।
त्यसअघि रोहित चन्दले जोर्डनका खेलाडीलाई लडाएपछि पेनाल्टी दिइएको थियो।
उनले खेलको ४८ मिनेटमा टिमको अग्रता दोब्बर पारे। उनले हानेको फ्रिकिक सिधैं जाली चुमेको थियो।
जोर्डनका लागि तेस्रो गोल अबोउ अल अरबले गरे। उनले खेलको ६७ मिनेटमा गोल गरेका थिए।
समूह ुबीु ६ अंक जोडेर चौथो स्थानमा रहेको नेपालले अब अन्तिम खेल खेल्न बाँकी छ।
नेपालले समूहको आफ्नो अन्तिम खेल जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ।
सोमबार जोर्डनसँगै पराजित भएसँगै नेपाल एसियन कपको तेस्रो चरणमा सिधैं पुग्ने सम्भावना लगभग सकिएको छ।
यद्यपी नेपाललाई प्लेअफबाट तेस्रो चरणमा पुग्ने अवसर भने बाँकी छ।
नेपालविरुद्ध जित हात पारेसँगै जोर्डन १३ अंक जोडेर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको अस्ट्रेलियाको १५ अंक छ।
कुवेत १० अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको नेपालको ६ अंक छ। पुछारको चाइनिज ताइपेईले भने अंक जोड्न सकेको छैन।
२४ जेठ २०७८, सोमवार २३:३९ बजे प्रकाशित












