निषेधाज्ञा खोल्ने कि जारी राख्ने ? उपत्यकाका तीन सिडिओको तीनथरी धारणा
नाकामा सेना राख्नेदेखि दशैंसम्म निषेधाज्ञा गर्ने सुझाव
निषेधाज्ञाको सम्बन्धमा काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी सिडिओको तीनथरी धारणा आएको छ ।
संसद्को ‘शिक्षा तथा स्वास्थ्य समिति’अन्तर्गतको उपसमितिको आइतबार बसेको बैठकमा काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओको फरक–फरक धारणा आएको हो ।
कोरोनासम्बन्धी कामकारबाही निगरानी गर्न बनेको शिक्षा समितिअन्तर्गतको उपसमितिले आइतबार तीनै जिल्लाका सिडिओलाई बोलाएर कोरोनाका सम्बन्धमा भइरहेको तयारीबारे जानकारी लिएको थियो ।
उपसमिति बैठकमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैँसम्म निषेधाज्ञा लम्ब्याउनुपर्ने बताएका थिए ।
ललितपुरका सीडीओ भन्छन् : उपत्यकामा दशैंसम्म निषेधाज्ञा गर्नुपर्छ
संक्रमणको दर बढिरहेकाले जोखिम कम गर्न दशैँसम्म अहिलेकै अवस्थालाई निरन्तरता दिनुपर्नेमा उनको जोड थियो ।
समितिमा भट्टले भने, ‘हाम्रो अगाडि चाडबाड आइरहेको छ । दशैँजस्तो ठूलो चाड आएको छ । जाडबाड, जात्रा भनेपछि मानिस ज्यान छाड्न पनि तयार हुने रहेछन्, त्यो देखिरहेका छौँ । त्यतिवेला पनि त्यस्तो हुन सक्छ । दशैँसम्म केही फ्लेक्जिबल बनाएर भए पनि अहिलेको अवस्थालाई कायम राख्नुपर्छ । चाडबाडमा मानिसहरूको आवतजावत धेरै हुन्छ । दशैँमा ठूलाबडाको हातको टिको त थाप्नैपर्छ जसरी भएपनि भन्ने हुन्छ । आशीर्वाद लिनुपर्छ भन्ने खालको सेन्टिमेन्टमा अवस्था झनै भयावह हुन सक्छ । त्यसकारण योचाहिँ दशैँसम्म लैजानैपर्छ ।’
तिजजस्ता चाडबाडमा पनि निषेधाज्ञा गरेका कारणले नै कोरोना संक्रमण कम भएको भट्टको भनाइ थियो ।
‘कोरोना संक्रमण द्रुत रूपमा बढ्ने हो कि भन्ने अनुमान त थियो । त्यसकारण निषेधाज्ञा गरियो । पुनः अलि खुकुलो बनाइयो । जनजीवनका अप्ठ्यारालाई टोलरेट गरेर भए पनि कोभिडलाई बढ्न दिनुहुँदैन । निषेधाज्ञा गरेपछि कोभिड संक्रमण घट्ला भन्ने पनि थियो, तर त्यस्तो भएन । बढिरहेको अवस्था छ । तर, निषेधाज्ञा नगरेको भए संक्रमितहरू झनै धेरै बढ्न सक्थे,’ उनले भने ।
निषेधाज्ञाका सम्बन्धमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको धारणा भने अलि फरक सुनिन्थ्यो । मानिसहरू रोगले भन्दा भोकले मर्ने स्थिति आइसकेको भन्दै अब ‘लिभिङ विथ कोरोना’बाट अघि बढ्नुपर्ने उनको भनाइ थियो । दाहालले भने, ‘अब लिभिङ विथ कोरोनाअनुसार अघि बढ्नुपर्छ । मानिसहरू रोगले भन्दा भोकले मर्ने वेला आइसक्यो । अब प्रोटोकल बनाउने र मानिसहरू आफू–आफू सुरक्षित रहनुपर्छ । त्यसको विकल्प छैन ।’
निषेधाज्ञामा परेको अप्ठ्यारोबारे दाहालले एक पुरोहितको कहानी नै सुनाए । उनले भने, ‘केही दिनअघि एक पुरोहिततलाई भेटेको थिएँ । पुरोहितले निषेधाज्ञा नै भए पनि आफू जसरी पनि श्राद्ध गर्न निस्कने बताउनुभयो । वर्षभरि खानका लागि अहिले कमाउने समय भएकाले घरभित्रै नबस्ने उहाँको भनाइ थियो । सोह्रश्राद्धमा जसरी पनि श्राद्ध गर्न हिँड्नेमा अडिग हुनुहुन्थ्यो । अब कसरी रोक्ने १ यस्तो भइसकेको छ अवस्था ।’
उपत्यकाका नाकाहरूमा सेना परिचालन गर्नुपर्ने दाहालको भनाइ थियो । प्रहरीले मात्रै सबैथोक गर्न नभ्याउने भएकाले सेनालाई राखिनुपर्नेमा उनले जोड दिएका थिए । ‘नाकाहरूमा सेना राखौँ । प्रहरीले काम गरेन भन्न खोजेको होइन, तर उसले सबैथोक गर्नुपरेको छ ।
जँड्याहालाई उठाउने पनि प्रहरी, नुन चोरदेखि सुन चोरसम्मलाई हेर्ने पनि प्रहरी । प्रहरीलाई भ्याइनभ्याई छ । त्यही भएर सेनालाई राखौँ । यो विषयका हामीले सिसिएमसीलाई पनि सुझाब दिएको थियौँ, तर कार्यान्वयन भइरहेको छैन,’ उनले भने ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा कडा गर्दा पनि विरोध भएको र खुकुलो पार्दा पनि संक्रमण बढेको भन्दै चिन्ता व्यक्त गरेकी थिइन् । निषेधाज्ञा पालनालाई कडाइ गरेर अप्ठ्यारो परेकाहरूलाई सहजीकरण पनि गरिनुपर्ने बताएकी थिइन् ।
उनले भनिन्, ‘निषधाज्ञा गर्दा पनि विरोध आउँछ । निषेधाज्ञा नगरौँ, संक्रमण बढ्छ । अब अप्ठ्यारो परेकाहरूलाई सहजीकरण गरिदिने र निषेधाज्ञा उल्लंङन गर्नेलाई कडा कारबाही गर्नुपर्छ । अहिले ११ बजेसम्म खुलाइएको छ । त्यसकारण मानिसहरूको भिडभाड देखिन्छ । यस्तो भिडभाड भयो भने संक्रमण द्रुत गतिमा बढ्छ ।’
क्वारेन्टिन, आइसोलेसनमा बस्नेहरूका निम्ति खाना खर्चको दर रेटमा पुनर्विचार गरिनुपर्ने पनि सिडिओहरूको भनाइ थियो । काठमाडौंका सिडिओ दाहालले भने, ‘खानाका निम्ति १७५ रुपैयाँ छुट्याइन्छ । यतिमा कसरी खाना खुवाउन पुग्छ रु यो दर रेटमा पुर्विचार गर्नुपर्छ । भक्तपुरी सिडिओले पनि १७५ रुपैयाँमा खाना खुवाउन नसकिने भएकाले यसबारेमा सोचविचार गरिनुपर्ने बताएकी थिइन् ।
काठमाडौं नाकामा कडाई गर्दापनि हरेक दिन २ हजार मानिस भित्रिन्छन्: काठमाडौं प्रजिअ दाहाल
२१ भदौ २०७७, आइतवार २०:५४ बजे प्रकाशित













