विपत्तिमा न परिवार, न आफ्नो देश !
छोरा- हेल्लो ! ममि सन्चै हुनुहुन्छ ?
आमा – सन्चै छ तलाई कस्तो छ ?
छोरा- म पनि ठिक छु ममि, गाउँमा कस्तो छ कोरोनाको अवस्था ? नेपाल फर्किउँ भनेको ?
आमा – पर्दैन पर्दैन नआइजो अहिले उतै बस् आफ्नो ज्यानको ख्याल गरेस् । यस्तो महमारी फैलिरहेको छ कहाँ आउनु ? आइहाले पनि घर बस्न पाउन्नस् क्वारेन्टाइनमा बस्नुपर्छ । बिदेशबाट आएको रोग लेराको छ कि भनेर कतै हिडडुल गर्न पनि दिन्नन् । त्यहाँ पनि बाहिरतिर हिडडुल नगरेस है । रोग हराएपछि आउलास । के गर्नु समय यस्तै छ, ज्यान भन्दा परिवार ठूलो ठान्न भएन ।
(यतिकैमा फोन काटिन्छ ।)
यो कुनै रेडियो अथवा टेलिभिजनमा बजेको सुचना होइन । रोजगारीको शिलशिलामा बिगत केही वर्षदेखि दक्षिण कोरियामा बस्दै आएका देबेन्द्र कार्कीले आफ्नो आमासँग गरेको संवाद हो ।
कार्कीको नेपाल घर मकवानपुरको थाहा नगरपालिका ७ मा हो । उनी बाहेक उनका सम्पुर्ण परिवार अहिले गाउँमा छ्न । कार्की रोजगारीका लागि विदेश गएका । उनी यतिबेला आफ्नो परिवारसँग बस्न चाहन्छन् तर, कोरोनाको महामारीका कारण उनको इच्छा तत्काललाई पुरा हुन सकेन ।
कार्कीको जस्तै पीडा धेरैको छ । कारण – ४० लाख भन्दा बढी नेपालीहरु विदेशमा छन् । युरोप, अमेरिका जस्ता सम्पन्न देशमा गएकाहरु खासै समस्यामा परेका छैनन् होला । खाडी मुलुकमा रोजगारीका लागि पुगेका नेपालीहरुको रोजगारी पनि गुम्ने र खाना र बस्नकै समस्या हुने अवस्था आएको बिभिन्न अध्ययनहरुले देखाउँछ । यस्तो बेला न परिवार, न आफ्नो देश ।
दशैं तिहारमा घर आउन नपाएकाहरु समयको अनुकुल पारेर चैत /वैशाखमा छुट्टी मिलाउने गर्दथे । यसबर्ष त्यो अवस्था पनि रहेन । २०७६ सालको चैते दशैं खल्लो भयो यहि कोरोनाको कारण ।
नेपाल भित्रै पनि एक ठाउँबाट अर्को ठाउँ जान बन्द गरिएको छ । आन्तरिक र बाह्य हवाई उडान बन्द छ । सवारी साधन चल्न सकेका छैनन् । परिवारसँग हुनेले त जसोतसो मन बुझाइरहेका छन्, परिवारसँग छुट्टिएर रहेकाहरु एक्लोपनको महसुस गरिरहेका छ्न ।
विदेशमा रहेकाहरु नेपाल आउन पाउँ भनिरहेका छन्, शहरमा रहेकाहरु गाउँ जान पाउँ भनिरहेका छन् । दैनिक कमाएर जीवन गुजारिरहेका मजदुरहरुको सडकमै भएको रुवाबासीले अर्को पीडा दिइरहेको छ ।
अब सोच फेर्ने कि !
पहिले मानिसहरु गाउँमा भन्दा सहरमा बस्न रमाउथेँ । शहर भन्दा सम्पन्न देश जान रमाउँथे । गाउमा दुख गर्न गाह्रो मान्थे, विदेश गएर जस्तो सुकै काम गर्न पछि पर्दैनथे ।
धेरै बाध्यताले पनि शहर पसे, विदेश गए । शिक्षा, स्वास्थ्य, रोजगार गाउँमा भन्दा शहरमा राम्रो हुने भ्रम छ । शहरमै उज्ज्वल भविष्यको सपना देख्दै गाउँ छाड्नेहरु धेरै छन् ।
अर्कोतर्फ परिवार घरमा छाडेर पुरुष बाहिर रहने गर्दा समाजमा अनेकन समस्याहरु परिरहेका छन् । मर्दा मलामी समेत नहुने अवस्था बनिसक्यो । रोग लाग्दा उपचार गराउन अस्पताल पुर्याउन बुढापाकाहरु अघि सर्नुपर्ने स्थिति छ । ब्यथित त्यस्तै छ ।
तर, समस्या पर्दा आफ्नै ठाउँ प्यारो हुँदो रहेछ । यतिबेला सम्पुर्ण नेपाली गाउँ फर्किन चाहिरहेका छन् । हिजो शहर रहर थियो भने आज गाउँ प्यारो भएको छ।
हिजो समाजमा मै हुँ भन्नेहरु आज मानवीय भावना खोज्न थालेका छ्न । धनको पछि दौडेर अरुलाइ चपेटामा पारेका चोरी, डकैती, लुटपाट , हत्या हिंसा , बलात्कार जस्ता जघन्य अपराध गर्न पनि पछि नहट्नेहरु त्यहि समाजमा रमाउन बाध्य छन ।
हिजोको रहरको भुमी शहर आज असहज भैरहेको छ । ‘आखिर सबैलाई अफ्ठेरो पर्दा गाउँ नै फर्किनुपर्ने बाध्यता पर्छ’ भन्ने साबित हुँदै गएको छ ।
थाहा नपाका कार्की भन्छन् “बिदेशमा दुख गरेर शहरमा घर बनाएँ । अहिले पहिले जस्तो परिवार र जीवन चलाउन कठिन छैन तर अप्ठेरोमा धन सम्पत्ति, घर भन्दा ठुलो मानिसलाई परिवार प्यारो लाग्दो रहेछ । आफ्नो जन्मभुमिको सम्झना बढी हुने रहेछ । यस्तो अवस्थामा मानवीयताको बढी आवश्यकता पर्दो रहेछ । यसको लागि उपयुक्त ठाउँ भनेको गाउँ आफ्नो जन्मस्थल नै उत्तम रहेछ ।’
मानिसले जती धन कमाए पनि ऊ कहिल्यै सन्तुष्टि हुँदैन । एक मानवलाइ अर्को मानवको खाचो पर्दछ यो कुरा मानिसले बुझ्दैनन । जब अप्ठ्यारो पर्दछ तब उ समाज खोज्न थाल्छ । अहिलेको समाजका मानिस यस्तै भएका छ्न ।
गाउमा दुख गर्न गाह्रो मानेर परिवारसँग कलह गरेर शहर पसेकाहरु तिनै बाआमालाई सम्झिरहेका छन् । आज गाउँ सबैको रोजाईको स्थल भएको छ ।
दशै तिहारमा मात्र आफ्नो परिवारसंग जमघट हुने हाम्रो समाज आज एउटा रोगले सबैलाई गाउँ फर्काएको छ । एक किसिमले यसबाट कतिको परिवारमा खुसीको लहर ल्याएको छ भने कतिपयमा विछोडिएकाहरुसंग मिलन होला नहोला भन्ने पिरमा यसको अन्त्य छिटै होस भन्ने कामना गरिरहेका छ्न । बृद्धबृद्धाले हेरचाह पाएका छन् । सायद परिवारमा हेरचाह बढेर होला मृत्युदर पनि निकै घटेको सरकारी तथ्याङ्क छ ।
अब सोच फेर्ने कि ! गाउँलाई नै हराभरा बनाउने कि ! कृषिलाई आधुनिकीकरण गरेर पैसा कमाउने कि ! विदेश जान खर्चै गर्ने लाखौं रकम लगानी गरे विदेशमा गएर कमाएर आउँदा ल्याउने पैसा यहिँ कमाउन सकिन्न र ! सकिन्छ । अब, सोच फेरौं । गाउँमै शिक्षालाई गुणस्तरीय बनाउन भूमिका खेलौं । गाउँमै रोजगारीका अवशर सिर्जना गरौं ।
आफु उद्यमी बनौं र अरुलाई बनाऔं । सक्छौं केही गरौं, सक्दैनौं केही गर्न खोज्नेलाई साथ दिऔं र जीवन चलाऔं । सुखी रहौं र खुसी रहौं ।
१२ साउन २०७७, सोमवार ०७:२३ बजे प्रकाशित













