दार्जिलिङका साहित्यकार कर्ण थामीको निधन
दार्जिलिङका वरिष्ठ साहित्यकार कर्ण थामीको आज ७८ वर्षको उमेरमा निधन भयो।
केही समययता अस्वस्थ रहेका उनलाई आज बिहान दार्जिलिङ जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
तर, बेलुकी उनको निधन भयो। साहित्यकार कर्ण थामी साहित्यका समर्पित साधक थिए। साहित्य लेखन र विस्तारका लागि उनी जीवनभरि ‘झोला बोकेर’ लागिरहे।
सिर्जनात्मक लेखनसँग सँगै उनी अनुवादमा पनि उत्तिकै सक्रिय थिए। अनुवादकै लागि उनले सन् १९९४ मा साहित्य अकादमी अनुवाद पुरस्कार प्राप्त गरेका थिए।
आफूलाई ‘फुमटाइम राइटर’ का रूपमा चिनाएका थामी नेपाली साहित्य सम्मेलन दार्जिलिङसँग पनि मृत्युपर्यन्त जोड़िएका थिए।
नेपाली साहित्य सम्मेलनमै रहेर उनले दार्जिलिङको मुटु मानिने चौरस्तामा भानुभक्तको सालिक पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
मार्च १ १९४२ (मा जन्मेका साहित्यकार कर्ण थामीका सुकान्तका कविताहरू अनुवाद, बङ्ग्लाका श्रेष्ठ कथाहरू अनुवाद, अनि बादल यसरी फाटिन्छ कथा सङ्ग्रह, धूप जलिरहेछ कविता सङ्ग्रह, मुक्त माटोको खोजीमा कथा सङ्ग्रह आदि कृति प्रकाशित छन्।
३० भदौ २०७७, मंगलवार ००:२० बजे प्रकाशित













