ओलीको अनुभूति : अहिलेसम्म प्रचण्डले पार्टी फुटबाट जोगाए

ओली–प्रचण्डबीच विभिन्न नेतामार्फत सन्देश आदानप्रदान

‘सचिवलाय वा स्थायी कमिटी बैठकले बहुमतबाट कुनै निर्णय गरेर अघि बढेको भए परिस्थिति अर्कै भइसक्थ्यो, स्थितिलाई पोजिटिभ ढंगबाट कुलडाउन गराएर प्रचण्डजीले राम्रो भूमिका खेल्र्दै आउनुभएको छ’ वालुवाटार आफु निकटका नेताहरुसँग प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले साटेको अनुभूति हो यो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिलेसम्म प्रचण्डले नेकपालाई फुटबाट जोगाएको बताउँछन् ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

पार्टीका दुई अध्यक्षले नेतृत्व गरेका दुवै पक्षले समानान्तर गतिबिधि जारी राखेका छन्।

साउन १३ गते तय भएको स्थायी कमिटीको बैठक ओलीले एकलौटी रुपमा स्थगित गरेपछि कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डले सो बैठक सञ्चालन गरेका थिए।

सो बैठकले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीसँग छलफल गरेर बैठकका लागि नयाँ मिति तोक्ने निर्णय गरेको थियो।

साउन ६ गते भएको सो स्थायी कमिटीको बैठकले निर्धारण गरेको मिति अर्थात् साउन १३ गतेको बैठक प्रधानन्त्री ओलीले स्थगित गरेपछि पार्टीको एउटा पक्षको सहभागिता र अर्को पक्षको अनुपस्थितिमा सम्पन्न भएको थियो।

बहुमत सदस्यको सहभागितामा भएको सो बैठकले स्थायी कमिटीबाट तय भएको बैठक अध्यक्ष ओलीद्वारा एकपक्षीय रुपमा स्थगन गर्नु विधानबिपरित भएको ठहर गरेको थियो।

४४ सदस्यीय स्थायी कमिटीमा रहेकामध्ये सो बैठकमा २९ जना सहभागी थिए। तर, ओली पक्षका ११ सहित पुर्वमाओवादी तर्फका ४ नेता सहभागी भएनन्।

गृहमन्त्री समेत रहेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा बैठकमा नगएका हुन्। रायमाझी र मणि थापाले बैठक स्थगित भएको सूचना पाएपछि बीचबाटोबाट फर्किएर आफ्नो काममा लागेको बताए।

ओली–प्रचण्डबीच विभिन्न नेतामार्फत सन्देश आदानप्रदान भने भइरहेको छ।

बिहीबार विहान महासचिव विष्णु पौडेलले प्रचण्डलाई खुमलटार पुगेर भेटेका थिए।

प्रचण्डले पौडेलमार्फत् ओलीलाई आफू एकताको पक्षमा रहेको बताउँदै विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने सन्देश पठाएको नेताहरुलाई बताएका छन्।

‘धेरैपटक छलफल भएपनि समाधान निस्केको छैन, अब चाहिँ सार्थक रुपमा विवाद समाधान हुनेगरी छलफलमा बसौं भनेको छु,’ प्रचण्डले ओलीलाई पठाएको सन्देश उद्धृत गर्दै खुमलटार पुगेका एक नेताले भने।

त्यसअघि बुधबार बेलुका ओलीलाई भेट्न विष्णु पौडेल हरिबोल गजुरेल, जनार्दन शर्मा, मणि थापा, देबेन्द्र पौडेल, चक्रपाणी खनाल, शंकर पोखरेल लगायतका नेता बालुवाटार पुगेका थिए।

भेटमा ओलीले पार्टी एकता भाड्ने गतिविधि भइरहेको गुनासो गरेको सहभागी एक नेताले जानकारी दिए।

‘स्थायी कमिटी बैठक भनेको छ, विवाद चर्काएको छ, अनि फेरि अहिले केन्द्रीय कमिटीको बैठक भनेर हस्तक्षेप गर्ने कोशिस भइरहेको छ, यो मलाई मान्य छैन,’ ओलीको भनाई उद्धृत गर्दै ती नेताले थपे, ‘वातावरण बिगार्ने गरी ल्याइने योजना सह्य हुँदैन।’

नेकपाका १५२ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको केन्द्रीय कमिटी बैठक माग गरी दुई अध्यक्षलाई पत्र बुझाइसकेको छ ।

यी सब गतिविधिका बाबजुत प्रचण्डको भूमिका सकारात्मक रहेको भन्दै प्रधानमन्त्रीले आफु निकटका नेताहरुसँग प्रचण्डले खेलेको भूमिकाबारे प्रशंसा गरेका गरेका हुन् ।

१३ गतेको बैठकबाट पार्टी फुटको अवस्था सिर्जना हुनसक्ने अवस्था रहेकोमा अन्तिम बिन्दुमा प्रचण्डले जोगाएको भनी ओलीले आफु निकटका नेताहरुलाई ब्रिफिङ गरेका हुन् ।

‘प्रचण्डजीले बैठक त राख्नुभयो तर, त्यहाँ जे कुरा उठाउनुभयो, त्यसले पार्टी एकताप्रति उहाँ गम्भीर रहेको पाएँँ,’ बालुवाटारमा ओलीको भनाई सुनेका एक नेताले भने, ‘बैठकले बहुमतबाट कुनै निर्णय गरेर अघि बढेको भए परिस्थिति अर्कै भइसक्थ्यो, स्थितिलाई पोजिटिभ ढंगबाट कुलडाउन गराएर प्रचण्डजीले राम्रो भूमिका खेल्नुभयो।’

त्यसो त सोहि छलफलमा सहभागी अर्का एक नेताले सो कुराकानीमा प्रचण्डनिकट नेताहरुसमेत भएका कारण ओलीले त्यसप्रकारको अभिव्यक्ति दिएको हुनसक्ने बताए।

बुधबार ओलीलाई भेटेका मध्येकै नेताहरु बिहीबार बेलुका प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

जनार्दन शर्मा, हरिबोल गजुरेल, देबेन्द्र पौडेल, टोपबहादुर रायमाझी, चक्रपाणी खनाल, मणि थापा, लगायतका नेता खुमलटार पुगेका हुन्।

‘म एकताको पक्षमा छु, अनावश्यक आशंका गर्नुपर्ने छैन, स्थायी कमिटीको बैठकमा पनि म समालिएको हुँ,’ प्रचण्डको भनाई उद्धृत गर्दै नेता मणि थापाले भने, ‘म भड्केको भए स्थिति बिग्रन्थ्यो।’

ती नेताहरुले प्रचण्डलाई एकताका लागि अझ गम्भीररुपमा लाग्न सुझाएका थिए।

‘हामी पार्टी एकता तलमाथि हुनुहुँदैन भनेर लागेका छौं,’ हरिबोल गजुरेलले प्रचण्डलाई दिएको सुझाव उद्धृत गर्दै भने, ‘हामी पनि यो पक्ष उ पक्ष भनेर लागेका छैनौं, तपाईले पार्टी एकता जोगाउन मुख्य भूमिका खेल्नुपर्‍यो।’

जवाफमा प्रचण्डले पार्टी एकता गर्दा भएका सहमतिबाट ओली नै पछि हटेकोले समस्या आएको बताएका थिए।

‘एकता प्रक्रिया बिग्रन्छ भनेर मैले अस्तीको बैठक पनि धेरै सन्तुलित बनाएको हो, सबै नेताहरुलाई मथ्थर पारेको हुँ,’ आफूलाई भेट्न पुगेका नेताहरुसँग प्रचण्डले भनेका थिए।

२४ साउन २०७७, शनिवार ००:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु