फेरि दुई साता लकडाउन गर्ने सरकारको तयारी

मोडलबारे छलफल गर्दैछौं : प्रधानमन्त्री ओली

सरकारले फेरि लकडाउन गर्ने तयारी गरेको छ । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । सोही अनुसार सरकार लकडाउन गर्ने गरी तयारीमा जुटेको हो ।

तर, लकडाउनको मोडल टुङ्गिएको छैन् । पहिले जस्तै देशभर लकडाउन गर्ने कि कम जोखीम भएको क्षेत्रमा खुकुलो र बढी जोखिम भएको ठाउँमा कडा रुपमा लकडाउन गर्ने भन्नेमा छलफल जारी रहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले प्रधानमन्त्रीलाई कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन् ।

बैठकपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताए ।

यही अवस्थामा अघि बढ्दा कोरोना थप भयावह हुन सक्ने विज्ञहरुले चिन्ता व्यक्त गर्नुभयो । उहाँहरुले छिट्टै कम्तीमा पनि २ साता लकडाउन घोषणा गरेर त्यो बीचमा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिनुभयो’, बैठकमा आफ्नो धारणा राखेर बाहिरिएका ठाकुरले भने ।

विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिँदै सरकारले पनि दुई साता लकडाउन गर्ने तयारीमा सरकार रहेको बताएको जनाइएको छ । तर, कस्तो मोडलको भन्नेमा प्रधानमन्त्रीले केही नभनेको यसबारे थप छलफल गरेर आफू टुंगोमा पुग्ने बताएको ठाकुरको भनाइ छ ।

सो क्रममा ठाकुरले सरकारले लामो समय लकडाउन गरेपनि प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारले सुझाव लिनेमात्रै नभइ काम पनि गर्नुपर्ने धारणा राखेका थिए ।

ओलीले प्रतिपक्षी दलसहित विज्ञहरुसँग सुझाव लिन बैठक बोलाएका हुन् ।

२० साउन २०७७, मंगलवार १७:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु