प्रचण्डसामु बामदेवको प्रस्ताव- अर्को चुनावपछि प्रधानमन्त्री बनाउने भए ओली क्याम्प छोडिदिन्छु
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा विवाद चर्किरहेकै बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान करिव ४० मिनेट भएको प्रचण्ड–गौतमबीचको भेटवार्तामा पार्टीमा देखिएको विवाद समाधानबारे छलफल भएको बुझिएको छ । प्रचण्ड गौतमलाई भेट्न बिहान ११ बजे भैंसेपाटी पुगेका थिए ।
भेटवार्तामा खासगरी यसअघि गौतमले राखेको ६ बुँदे प्रस्तावका विषयमा छलफल भएको उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच ४० मिनेट कुराकानी भएको थियो ।
यसअघि आइतबार र सोमबार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका प्रचण्डले ती भेटवार्तामा पनि सहमतिको संकेत नदेखिएपछि गौतमसँग भेटेका हुन् ।
स्रोतका अनुसार कुराकानीमा प्रचण्डसामु बामदेव गौत्तमले एउटा प्रस्ताव राखेका छन् – आगामी चुनावपछि प्रधानमन्त्री बनाउने भए ओली क्याम्प छोडिदिन्छु ।
गौतमले गत साउन १३ गते नेता प्रधानमन्त्री ओलीले राख्र्दै आएको अडानलाई नै समेटेर ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए ।
आफुलाई अर्को चुनावपछि प्रधानमन्त्री बनाउने भए अहिले राखेको ६ बुँदे छाडेर जान र ओली क्याम्प छोड्न तयार रहेको प्रचण्डलाई बताएका छन् ।
स्रोतका अनुसार यसबारे प्रचण्डले गौत्तमबारे कुनै जवाफ दिएका छैनन् ।
६ बुँदे प्रस्तावमा भने महाधिवेशनसम्म ओलीले दुवै पद छाड्न नपर्ने तर प्रचण्डलाई पार्टीको पूर्ण जिम्मेवारी दिनुपर्ने उल्लेख छ ।
यो प्रस्तावमा ओली समूह सकारात्मक छ भने प्रचण्ड नेपाल समूह ओलीले अध्यक्ष वा प्रधानमन्त्री एक पद छाड्नुपर्ने अडानमा उभिएको छ ।
२० साउन २०७७, मंगलवार १८:०४ बजे प्रकाशित













