संसदमै मर्न तयार छु, एमसीसी अघि बढाउदिन : सभामुख सापकोटा

१८ माघ, काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी अगाडि नबढाउने अडान राखेका छन ।
प्रधानमन्त्री शेरबहादुर देउवदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवनेपालसंगको भेटमा सभामुख सापटाले यस्तो अडान राखेका हुन ।
एमसीसी सम्झौता संसदमा दर्ता भएर रहेको छ । सरकारले चाहेको खण्डमा यो विषय संसदमा अगाडि बढ्न सक्छ । तर, सभामुख सापकोटा सरकारले चाहँदैमा एमसीसीलाई सहज अगाडि बढ्न नदिने रणनीति अपनाएका हुन् ।
पछिल्लो समय प्रधानमन्त्री देउवाले सभामुखलाई प्रधानमन्त्री निवास वालुवाटार बोलाएर छलफल गरेका थिए । छलफलमा सभामुख सापकोटाले आफु गोली खात तयार रहेको तर, यथास्थितिमा एमसीसी अगाडि बढाउन तयार नरहेको जवाफ दिएका छन ।
१६ माघमा बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने सरकारको तयारी थियो । तर, त्यसको दुई दिन अगावै १४ माघको विहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटार पुगे ।
उनले आफू संसदमै मर्न तयार रहेको, तर एमसीसी सम्झौता टेबल गर्न नदिने अडान सुनाए ।
‘शेरबहादुर देउवाको कुरा हामीले किन मान्ने रु म पेश गर्नै दिन्न, बरु त्यहीँ मर्छु भन्नुभएछ,’ प्रचण्डको ब्रिफिङ सुनेका एक नेताले भने । त्यतिमात्रै होइन, सापकोटाले आफूविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण अप्ठ्यारोमा पारिए पनि एमसीसी अघि बढ्नै नदिने अडान राखे ।
तर, प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी सम्झौता संसदमा टेबल गराउने प्रयासमा छन् ।
शनिबार मात्र सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठकमा १ फेब्रुअरीभित्र एमसीसी सम्झौता संसदमा टेबल गर्ने भन्दै उनले सहमत नभए भोट नहाल्न सक्ने बताएका थिए । तर सभामुखको अडान बुझेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्री देउवालाई रोके ।
त्यसपछि १६ गतेका लागि डाकिएको संसदको बैठक १० दिन धकेलियो ।
यसअघि पनि सभामुख सापकोटाले एमसीसीमा सर्वदलीय र राष्ट्रिय सहमतिको कुरा गर्दै आएका थिए । पछिल्लो समय गठबन्धनमा सहमति भए पनि हुने बताउने गर्दथे । तर, गठबन्धनमा सहमति हुन्छ कि भन्ने त्रासमा पुगेपछि उनले अब गठबन्धनमा सहमति भए पनि आफुलाई अध्ययन गर्न थप समय चाहिने बताएर एमसीसी रोक्न खोजेका हुन ।
१८ माघ २०७८, मंगलवार २३:०४ बजे प्रकाशित