मन्त्रिपरिषद् बैठकको निर्णय : हटाएका प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्ति गर्ने

माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ । स्थायी समिति बैठकमा पार्टीका तर्फबाट प्रदेश प्रमुखका लागि दुई नेताको नाम पठाउने सहमति भएको छ ।
दिउँसो बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा ओली सरकारले हटाएका प्रदेश प्रमुखलाई नै पुनर्नियुक्ति गर्ने निर्णय भएको स्थायी कमिटी सदस्य गणेश साहले बताए ।
नेकपा माओवादी केन्द्रले ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्तिको निर्णय गरेको छ । आफ्ना भागमा परेका दुईवटा प्रदेश प्रमुखमध्ये गण्डकीमा अमिक शेरचन र अर्को प्रदेशमा तिलक परियारलाई सिफारिस गर्ने निर्णय स्थायी कमिटी बैठकले गरेको हो ।
यद्यपि आजको मन्त्रिपरिषद् बैठकले भने लुम्बिनीमा कांग्रेस, गण्डकीमा माओवादी केन्द्र र प्रदेश २ मा जसपाका तर्फबाट १/१ जना प्रदेश प्रमुख नियुक्त गर्नेछ।
प्रदेश प्रमुखहरूको भागबण्डामा सातमध्ये माओवादी केन्द्रलाई दुईवटा परेको छ। शेरचन र परियार दुवै जनालाई केपी ओली सरकारले हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश २ मा राजेश अहिराजलाई नियुक्त गरेको थियो।
१२ साउन २०७८, मंगलवार १६:३९ बजे प्रकाशित