भागवण्डमा माधव नेपालले पाए एक प्रदेश प्रमुख, एक योजना आयोग सदस्य

मन्त्रीको टुंगो लाग्न बाँकी

नेकपा एमालेका असन्तुष्ट नेता माधवकुमार नेपाललाई सरकारमा लैजाने गरी भागवण्डा छुट्याउन थालिएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले छाडेर छुट्टै पार्टी बनाउने रणनीतिमा रहेका नेता नेपालको भागमा एक प्रदेश प्रमुख परेको हो।

देउवा नेतृत्वको सरकारले माधव समूहलाई पनि भाग छुट्याएर संवैधानिक नियुक्त गर्ने रणनीति लिएसँगै सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजै कोटेश्वर पुगेका थिए। उनले नेपाललाई उनको भागमा एकजना प्रदेश प्रमुख र एकजना राष्ट्रिय योजना आयोगको सदस्य परेको भन्दै नाम सिफारिस गर्न भनेका थिए।

यसबारेको जानकारी प्रचण्डले आजै बसेको माओवादी स्थायी कमिटी बैठकमा पनि गराएका थिए। उक्त बैठकमा प्रचण्डले माधवसँगको भेटबारे जानकारी दिँदै ती दुवै पदका लागि नाम सिफारिस गर्ने जवाफ आफूले पाएको बताएका छन्।

माधव नेपालले भने स् पार्टी एकताको कुरा चलिरहन्छ, सरकारमा सहभागी हुन्छौँ
माधव पक्ष सरकारमा आउने सम्भावनालाई ध्यान दिँदै दाहाल र देउवाबीच आजै बालुवाटारमा संवाद भएको थियो। माधवलाई भेटेपछि त्यहाँको सन्देशसहित दाहाल बालुवाटार छिरेका थिए। आफूसँगको भेटमा नेपालले सरकारमा आउन तयार रहेको बताएको जानकारी दाहालले बालुवाटार र पेरिसडाँडा बैठकमा पनि गराएका थिए।

अध्यक्ष प्रचण्ड नेपाललाई कुनै हालतमा एमालेबाट झिक्ने अभियानमा छन्। त्यहीअनुसार उनले माओवादीले पाउने बराबरकै मन्त्रालय दिएर भए पनि नेपाललाई सरकारमा लैजान कोसिस गरिरहेका छन्। आजको भेटमा संवैधानिक नियुक्तिका लागि नाम सिफारिस गर्ने बताए पनि सरकारमा जानेबारेमा साथीहरुसँग छलफलकै चरणमा रहेको जवाफ दाहाललाई दिएका छन्।

देउवा नेतृत्वको सरकारले सातै प्रदेश प्रमुख फेर्ने तयारी गरिरहेका बेला प्रचण्डले नेपाललाई भेटेका थिए। माधवजीले पार्टीमा एकताको कुरा चलिरहन्छ, तर हामी सरकारमा सहभागी हुन्छौँ भन्नुभएको छु, आजको बैठकमा बोल्दै दाहालले भने, प्रदेश प्रमुख र योजना आयोग सदस्यको पनि हामी नाम दिन्छौँ। सरकारमा सहभागिताबारे साथीहरुसँग सल्लाह भइरहेको छ।

नेपालले सरकारमा सहभागी हुने संकेत गरेसँगै माओवादी र कांग्रेस दुवै दल थप मन्त्रीको टुंगो लगाउने गृहकार्यमा जुटेका छन्। माओवादीले भोलिको बैठकबाट अन्य पाँच मन्त्रीको टुंगो गर्ने भएको छ। यता कांग्रेसले पनि अन्य मन्त्रीको टुंगो लगाउन छलफल थालेको छ। अहिले देउवा सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई मन्त्री छन्।

१२ साउन २०७८, मंगलवार २१:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु