एमाले माधव नेपाल समुहमा मत बाझियो, प्रधानमन्त्री देउवाप्रती आशंका

३ साउन, काठमाडौं । नेकपा एमालेका सचिव भीम आचार्यले एमाले विभाजित गर्ने षडयन्त्रअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले हतार-हतार विश्वासको मत लिन खोजेको बताएका छन् ।

१०बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीको एकता जोगाउनुपर्ने मत निष्कर्षमा पुगेको दोस्रो तहका नेताहरुले आइतबार बिहान आचार्यसहितका नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए । त्यसअघि शनिबार अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

तर एकाएक प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेपछि एमालेमा एकताका लागि प्रयासरत दोस्रो तहका नेताहरु असन्तुष्ट देखिएका छन् । नेता नेपाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल पक्षमा रहेका सचिव आचार्य भन्छन्, ‘आज हतार गरेर लिन के जरुरी छ ?’

संसद जोगाउन मधेसका पार्टीहरुसँग छलफल गर्ने लगायतका विकल्प हुँदाहँदै हतारमा विश्वासको मत लिन खोजिएको भन्दै उनले भने, ‘नेकपा एमालेलाई विभाजित गर्ने षडयन्त्र अन्तरगत यो सब भइरहेको छ । जबकी हामी १० बुँदे सहमति पश्चात विभाजित भएर एमालेले भोट हाल्दैन भनिरहेका छौं ।’

एक महिनाभित्र लिँदा हुने विश्वासको मत चार दिनमै लिनु एमाले फुटाउने षडयन्त्र भएको उनले बताए । एमाले सचिव आचार्यले अघि भने, ‘पार्टीमा कुनै छलफल भएको छैन, हाम्रो भनिएको टिममा पनि के गरौं, कसो गरौं छलफल भएको छैन । मनलागी गर्छ भने व्यक्तिगत कुरा हुन्छ । समूहको कुरा होइन ।’

३ साउन २०७८, आइतवार १३:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु