एमाले बैठक सकियो, माधव नेपालले गरेको प्रस्ताव अस्विकार गर्ने निर्णय

१ साउन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।
माधवकुमार नेपाल पक्षले बैठक रोक्न आग्रह गरेको थियो तर, उक्त आग्रह अस्वीकार भएको छ ।
तुलसीलाल प्रतिष्ठान, च्यासलमा बसिरहेको स्थायी कमिटी बैठकमा निर्णय गर्दा ओली पक्षीय नेताहरु मात्र सहभागी थिए । पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका नेताहरु च्यासलमा पुगेर बैठक रोक्न आग्रह गरेका थिए । तर, आग्रह स्वीकार हुन सकेन ।
ओलीको गुनासो : जनादेश हुँदा पनि सरकार छाड्नुपर्यो
एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको आदेशकै कारण सरकार छोड्नुपरेको बताएका छन्। स्थायी कमिटी बैठकमा बोल्दै ओलीले आफ्नो पक्षमा जनादेश हुँदा हुँदै पनि सरकार छाड्नुपरेको गुनासो गरेका हुन्।
‘न्याय दिने ठाउँबाटै हामीलाई अन्याय भयो,’ ओलीले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा भने, ‘हाम्रो सरकारलाई जनादेश थियो तर, परमादेशले सरकार छोड्नुपर्यो।’
उनले सरकार छोडे पनि जनता आफ्नो साथमा रहेको पनि बताएका छन्। ‘हाम्रो साथमा जनता छन्, हामी जनताकहाँ गएर फेरि आउन सक्छौं,’ ओलीले भने।
प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक रहेको ठहर गर्दै पुनस्स्थापना गरिदिएको थियो।
प्रतिनिधिसभा पुनस्स्थापनासँगै सर्वोच्चले कांग्रेस दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश दिएसँगै ओलीले सत्ता छाड्नुपरेको थियो। त्यसअघि एमालेभित्र देखिएको विवाद मिलाउन ओली र वरिष्ठ नेता माधवकुमार नेपालले बनाएको कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो।
१ साउन २०७८, शुक्रवार १३:२६ बजे प्रकाशित