सितल निवासमा देउवा, प्रचण्ड, माधव र उपेन्द्रबिच छुट्टै छलफल जारी

२९ असार, काठमाडौँ । प्रधानमन्त्री नियुक्तिबारे राष्ट्रपतिको पत्रलाई लिएर विवाद भएको छ । प्रधानमन्त्री नियुक्त गरिएको पत्रमा संविधानको धारा उल्लेख नगरिएको भन्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिन अस्वीकार गरेका हुन् ।
देउवालाई सर्वोच्च अदालतको परमादेशअनुसार नियुक्त गरिएको भनेर राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गरेको थियो ।
प्रधानमन्त्री देउवाको शपथ कार्यक्रम ६ बजे तय भएको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका थिए । तर, प्रधानमन्त्री नियुक्तिको पत्रमा संविधानको धारा उल्लेख नगरी सर्वोच्चको परमादेशअनुसार भनेर लेखिएको व्यहोरा सच्याउनुपर्ने माग देउवाले गरेपछि शपथ हुन नसकेको हो ।
राष्ट्रपति कार्यालयले नियुक्ति पत्र सच्याएर शपथ गराउने तयारी गरिरहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।
शपथलाई लिएर विवाद भएपछि प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता देवप्रसाद गुरुङ छलफलमा रहेका छन् । उनीहरूले शपथ ग्रहणको विषयमा उत्पन्न विवाद समाधानबारे छलफल गरिरहेको बताइएको छ ।
२९ असार २०७८, मंगलवार १९:१० बजे प्रकाशित