को हुन देउवा ? जो पाँचौँ पटक प्रधानमन्त्री भए
राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक मुलुकको प्रधानमन्त्री बनेका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै सोमबार पुनःस्थापनाको फैसलाका साथ सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।
सोही फैसलानुसार राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
राजनीतिक पृष्ठभूमि
कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका प्रेरणाबाट राजनीतिमा होमिएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो ।
उनी हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् । खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका थिए ।
प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंँमा हासिल गर्नुभएका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् ।
नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहेका छन् ।
विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।
विसं २०४८ मा गृहमन्त्री बन्नुभएका देउवाले त्यसपछि पटकपटक गरी चार पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए ।
त्यसपछि उहाँ २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री थिए । सोही वर्ष असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए ।
प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बने पनि राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए ।
प्रधानमन्त्री हुँदा उहाँले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस ९कदमजम० को अवधारणा ल्याएका थिए ।
त्यस्तै उनकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् ।
पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक)का उहाँ सभापति बन्नुभयो । पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक)को एकतापछि उहाँ काग्रेसको वरिष्ठ नेता भएका थिए ।
त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनमा उनी तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए ।
सभापति एवम् संसदीय दलका नेता देउवा व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो प्रधानमन्त्री निर्वाचित भएका थिए ।
संविधान कार्यान्वयनका लागि उहाँकै नेतृत्वमा २०७४ सालमा सम्पन्न तीनै तहका निर्वाचनमध्ये प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले पराजय बेहोरेपछि उनले २०७४ फागुन ३ गते पदबाट राजीनामा दिएका थिए ।
सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष उनी सन् २०१३ देखि उक्त सङ्गठनको अन्तरराष्ट्रिय उपाध्यक्ष हुन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताएका थिए ।
नेता देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, डेनमार्क, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, अष्ट्रेलियालगायत मुलुकको भ्रमण गरेका छन् ।
२९ असार २०७८, मंगलवार २०:३९ बजे प्रकाशित