राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म देउवाले प्रधानमन्त्रीको सपथ नलिने

२९ असार, काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति आपत्ति जनाएका छन् ।
राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएका हुन् ।
बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताए ।
आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका हुन् ।
यस विषयमा राष्ट्रपतिसँग छलफल गर्ने भन्दै मुख्यसचिव बूढानीलकण्ठबाट बाहिरिएका छन् ।
२९ असार २०७८, मंगलवार १८:४४ बजे प्रकाशित