धारा ७६ (४) प्रयोग नभैइ ७६ (५) सुरु हुन सक्दैन : संविधानविद आचार्य

१३ असार, काठमाडौं । संविधानविद भीमार्जुन आचार्यले ‘बहालवाला प्रधानमन्त्री पद मुक्त नभई अर्को प्रधानमन्त्री नियुक्तिको प्रक्रिया सुरु हुदैन । ७६ (३) को प्रधानमन्त्री केपी ओली ७६ (४) को प्रक्रियामा जानुभएको छैन’  बताएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै उनले प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नलिएसम्म अर्को सरकार गठनको प्रक्रिया अघि बढ्न नसक्ने बताएका हुन् ।

वैशाख २७ गते विश्वासको मत लिन संसद गएका प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपति धारा ७६ (२) अनुसार बहुमतको सरकार बन्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (३) अनुसार संसदको ठूलो दलको नेताको हैसियतमा वैशाख ३० गते ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीका लागि विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था हो भन्दै आचार्यले प्रधानमन्त्रीले विश्वासको मत नपाएमा मात्र अर्को सरकार बन्न सक्ने बताए । ‘७६ (४) को प्रक्रिया पूरा नगरी ७६ (५) को प्रक्रिया नै सुरु हुन सक्दैन’ आचार्यले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उपस्थित भएर विश्वासको मत नलिएसम्म अर्को सरकार गठनको प्रक्रिया नै सुरु हुन नसक्ने बताएका छन् ।

१३ असार २०७८, आइतवार १३:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु