कर्णाली प्रदेश सभा बैठक : सत्तापक्ष र प्रतिपक्षबीच आज लिखित सहमति हुने

फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्री अम्मर बहादुर थापा सदनमा उपस्थित भएकोमा विरोध गर्दै प्रदेशसभा बैठक अवरुद्ध गरेको नेकपा एमालेको माग सम्वोधन गर्न कर्णाली सरकार तयार भएको छ ।
सत्तापक्ष र प्रतिपक्षबीच आज लिखित सहमति हुने स्रोतले जानकारी दिएको छ । मन्त्री थापाको बर्खास्तीको माग गरी एमालेले प्रदेशसभाको आठौं अधिवेशन सुरु भएको पहिलो दिन जेठ २४ गतेदेखि नै संसद अवरुद्ध गरिरहेको थियो ।
‘एमालेले राखेको माग सर्वोच्चमा विचाराधीन भएका कारण सदन अवरुद्ध गर्न उचित थिएन । तर सदन सञ्चालन गर्नु सरकारको दायित्व हो ।’ निरन्तरको छलफलमा सहभागी सत्ता पक्षीय एक नेताले नेपालप्रेसलाई भने, ‘सरकारले आजबाट प्रमुख प्रतिपक्षी दलको माग सम्वोधन गर्छ र आजबाट सदन सुचारु हुन्छ ।’
जेठ २४ गते बसेको सर्वदलीय वैठकमा सत्तापक्षले जेठ ३० गतेसम्म मन्त्री थापालाई सदनमा उपस्थित नगराउने मौखिक प्रतिवद्धता जनाएको थियो । जेठ २५ गतेको वैठकमा लिखित रुपमा सहमति गर्नुपर्ने एमालेको माग सत्तापक्षले अस्वीकार गर्दा सहमति भाँडिएको थियो । २६ गते बसेको वैठकमा पनि सत्तापक्ष सहमति गर्न इच्छुक नदेखिएको बताउँदै एमालेले सदन अवरुद्ध गरेको थियो ।
२६ गतेको सदन अवरुद्ध भएसँगै सत्तापक्ष लचिलो भएको छ । आज दिउँसो १२ बजे बस्ने सर्वदलीय वैठकमा लिखित सहमति हुने एमाले स्रोतको भनाई छ । यो सहमति हुनुपूर्व नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र नेकपा एमालेका प्रमुख सचेतक गुलावजंग शाहबीच सहमति भएको बताइएको छ ।
आज लिखित सहमति भएपछि सदनमा सरकारले प्री–बजेट छलफल गराउने छ । उक्त छलफल भोलि सकिनेछ र पर्सी सरकारले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ते तयारी गरेको छ ।
२७ जेठ २०७८, बिहीवार ११:०० बजे प्रकाशित