प्रदेश २ मा रातीराती मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीले लिए सपथ

नीति तथा कार्यक्रम र बजेट आएपछि राज्यमन्त्रीहरु थपिने

प्रदेश २ सरकारमा कांग्रेसबाट नियुक्त भएको मन्त्रीहरुले शपथ ग्रहण गरेका छन्।

मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई समेटेर मन्त्रीपरिषद् विस्तार गरेका हुन्।

प्रदेश सरकारका सहभागी मन्त्रीहरुले बुधबार राति शपथ ग्रहण गरेका छन्।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले शपथ ग्रहण गराएका हुन्।

नेपाली कांग्रेसबाट मन्त्रीहरु थपिएसँगै प्रदेश २ मा ९ सदस्यीय मन्त्री मण्डल भएको छ।

यसअघि ७ सदस्यीय मन्त्रीमण्डलमा मुख्यमन्त्री अतिरिक्त ६ मन्त्रीहरु थिए भने अब मुख्यमन्त्री अतिरिक्त ८ मन्त्री हुनेछन्।

नेपाली कांग्रेसको संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो।

संसदीय दलका नेता यादवलाई भौतिक पूर्वाधार विकास, बीरेन्द्रप्रसाद सिंहलाई महिला बालबालिका युवा तथा खेलकुद र ओम प्रकाश शर्मालाई ऊर्जा तथा खानेपानी मन्त्रीको जिम्मेबारी दिइएको छ ।

यता कांग्रेसलाई राज्यमन्त्री दिने सहमति समेत भए पनि अहिले भने राज्यमन्त्रीको विषयमा निर्णय हुन सकेको छैन ।

नीति तथा कार्यक्रम र बजेट आएपछि मात्रै राज्यमन्त्रीहरु समेत कांग्रेसबाट थपिने बताइएको छ ।

कांग्रेसलाई सरकारमा शामिल गराउनका लागि मुख्यमयन्त्री राउतले विभिन्न मन्त्रालयहरुलाई टुक्र्याएका छन् ।

उनले भौतिक पूर्वाधार, सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन र वन, उद्योग, पर्यटन र वातावरण मन्त्रालय टुक्रयाएका छन् ।

यता माओवादी केन्द्रलाई समेत बुधबार नै सरकारमा शामिल गराउने प्रयास असफल भएको छ ।

सरकारको कार्यदल र माओवादी केन्द्रको कार्यदल बिच मन्त्रालय बाँडफाँडमा सहमति जुट्न नसकेपछि राउतले माओवादीलाई तत्काल सरकारमा शामिल गर्न सकेका छैनन् ।

यस अघि मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका १ मन्त्री र ३ राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए ।

२६ जेठ २०७८, बुधवार २२:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु