सभामुखले बोलाएको बैठकमा प्रधानमन्त्री ओली सहभागी नहुने

२७ जेठ, काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले शुक्रवारको लागि बोलाएको परामर्श बैठकबारे प्रधानमन्त्रीलाई कुनै जानकारी नरहेको र सभामुखले भेटेर आग्रह पनि नगरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सभामुखले शुक्रवार संसदका प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरुसँग छलफलका लागि पत्राचार गरेका थिए । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पार्टी कार्यालयमा पत्र पठाइएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले त्यस्तो बैठकबारे जानकारी नभएको र अहिले प्रतिनिधिसभा नै भंग भएकाले सभामुखसँग त्यो हैसियतमा बैठक बोलाउने आधार पनि नरहेको जनाएको छ ।

प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराईले बैठकबारे जानकारी नभएको र त्यसरी कतै पत्र पठाएर प्रधानमन्त्री सहभागी हुने कुरै नभएको बताए ।

एमाले स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधिसभामा संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई त्यस्तो बैठकबारे जानकारी नरहेको र त्यसको अर्थ पनि नहुने बताए ।

सभामुखले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै त्यसको प्रतिवादमा उत्रिन आह्वान गरेका थिए । प्रधानमन्त्री र सभामुखबीच पछिल्लो समय संवादहीनता छ ।

२७ जेठ २०७८, बिहीवार ११:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु