एमालेका दुवै पक्षले आज बोलायो बैठक

२० जेठ, काठमाडौं । पार्टी एकताका लागि निरन्तर वार्ता चलिरहेको छ । तर, आज एमालेका दुवै पक्षले बैठक बोलाएका छन् । संस्थापन पक्षले बालुवाटारमा दिनको ४ बजे बैठक राखेका छन् भने पार्टीबाटै निष्कासनमा परेका माधव नेपालले विहान ११ बजेपछि भर्चुअल बैठक बोलाएका छन् ।
पार्टीको आन्तरिक कारण भन्दै बुधबार स्थगित भएको एमालेको स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
बैठकमा पार्टीलाई फुट्नबाट बचाउने विषयमा छलफल हुने जनाइएको छ। यसअघि पार्टीको ‘एकता बचाउन’ भन्दै भइरहेका प्रयासलाई मध्यनजर गरेर बुधबारको स्थायी कमिटी बैठक स्थगित गरेका थिए ।
माधव नेपालले पनि आफू पक्षीय केन्द्रीय सदस्यहरुसँग भर्चुअल बैठकको आयोजना गरेका छन् ।
नेपालले आयोजना गरेको बैठकमा सहभागी नहुन एमालेले निर्देशन दिइसकेको छ । आज बिहान विज्ञप्ति जारी गर्दै एमाले पार्टी सचिव शेरबहादुर तामाङले ‘अनधिकृत व्यक्ति’ले बोलाएको बैठकमा सहभागी भए कारवाही गर्ने चेतावनी दिएको छ ।
एमालेका महासचिव ईश्वर पोखरेल र माधव नेपाल पक्षका नेता योगेश भट्टराई पछिल्लो समय पार्टी एकता जोगाउन गम्भीर ढंगले लागेका छन् ।
ओली पक्षका नेता सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु पौडेल लगायतका नेताहरु पार्टी एकताका लागि भन्दै वार्ता गरिरहेका छन् । त्यस्तै, नेपाल पक्षका योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द पाण्डे लगायतका नेताहरु पार्टी एकता जोगाउन वार्तामा सक्रिय भएका छन् ।
एमाले संस्थापन पक्षले पनि अन्तिम समयसम्म पार्टी एकताका लागि प्रयास जारी राख्ने भन्दै चार दिनदेखि निरन्तर स्थायी कमिटी बैठक स्थगित गर्दै आएको छ । स्थायी कमिटी निर्णयबाट नै पार्टीका १२ नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ नआउँदा समेत कारवाही प्रक्रिया अघि बढाएको छैन ।
२० जेठ २०७८, बिहीवार ११:०० बजे प्रकाशित