यी नेताले माधव नेपालको साथ छाड्न सक्ने

काठमाडौं, २० जेठ । नयाँ दल खोल्न ठिक्क परेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई निकट केही नेताहरुले रोक्दै आएका छन् । नेकपा एमाले फुट्न दिन नहुने र संघर्ष जारी राख्नुपर्ने पक्षका नेताहरुले सहमतिको प्रयास जारी राखेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका नाममा राजनीतिक अस्त्र फालेर अलमलाउने मात्र गरेको भन्दै नेपाल अलग भएर जानुपर्ने पक्षमा छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वउपप्रधानमन्त्री भीम रावलको पनि यस्तै धारणा रहेको छ ।

माधव नेपाल समूहका सुरेन्द्र पाण्डेका अलावा मध्यमार्गी बनेका गोकर्ण बिष्ट र योगेश भट्टराई भने कुनै हालतमा फुटाएर अर्को पार्टी गठन गर्न नहुने पक्षमा छन् । उनीहरु जे जस्तो सहमति निकाल्न सकिन्छ निकालेर अन्र्तसंघर्ष गर्दै जानुपर्ने अडान लिदै आएका छन् ।

नेकपा स्थायी कमिटी बैठकबाट ओलीलाई कारबाहीमा अगाडि बढ्न रोकाउने भूमिका पनि गोकर्ण बिष्ट र योगेश भट्टराईकै देखिन्छ । भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीसँग नियमित भेटघाट गर्दै एमाले एकताको प्रयास जारी राखेका छन् ।

यता, नेपाल भने सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटनबारे आउने फैसला हेरेर अगाडि बढ्ने पक्षमा छन् । फैसला आएपछि उनले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । त्यतिबेला सुरेन्द्र पाण्डेको साथ हुनसक्ने सम्भावना छ । तर, गोकर्ण बिष्ट र योगेश भट्टराई एमालेमै रहने सम्भावना बलियो छ ।

बिष्ट र भट्टराईको पछिल्लो भूमिकाप्रति नेपाल असन्तुष्ट बनेका छन् ।

उनले आयाराम र गयारामको प्रसंगमा लालबाबु पण्डितको नाम जोडेर व्यङ्ग्य समेत गरेका छन् ।

हिजो आफूनिकट भातृसंघ संगठनका युवा नेताहरुसँगको छलफलमा नेपालले अगाडि बढ्ने स्पष्ट पारे । उनले कोही नेता जानसक्ने भएपनि आफू नरोकिने स्पष्ट पारे ।

२० जेठ २०७८, बिहीवार १०:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु