२९७ मत खस्यो, मतपरिणाम भर्चुअल माध्यमबाट केहि समयमै सार्वजनिक हुने

राष्ट्रिय सभाको उप–निर्वाचनमा २९७ मत खसेको छ। जम्मा ३ सय मतदाता रहेकोमा २९७ मत खसेको हो। स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् । लुम्बिनी प्रदेशसभाका सबै ८३ सदस्यले मतदान गरेका छन्।

लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट  केहि समयमै सार्वजनिक गरिने भएको छ ।

कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्काले एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए ।

त्यसपछि रिक्त पदमा नेकपा एमालेबाट खड्का नै उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेसका दीर्घनारायण पाण्डेय उम्मेदवार बनेका छन् ।

उपनिर्वाचनको मतगणना सोमबार साढे ३ बजेपछि सुरु हुने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

निर्वाचनका लागि दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा तीन वटा मतदान स्थल तोकिएको छ ।

प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो । बिहान ९ बजेदेखि मतदान शुरु भएको हो ।

१७ जेठ २०७८, सोमवार १४:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु