सरकारले अलोकतान्त्रिक र असंवैधानिक काम गरिरहेको विपक्षी गठबन्धनको आरोप

१६ जेठ, काठमाडौं । देश कोरोना महामारीबाट आक्रान्त भइरहेको कठिन परिस्थितिको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अवहेलना र उल्लंघन गर्ने काम गर्दै आएको विपक्षी गठबन्धनको आरोप छ ।

विपक्षी गठबन्धनको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान विपरित बजेट ल्याएकोमा आपत्ति जनाएको छ ।

आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले सो  आरोप  जनाएको हो   ।

संघीय संसदमा पेश हुनुपर्ने बजेट अध्यादेशमार्फत ल्याएर संविधानको उल्लंघन गरेको भन्दै विपक्षी गठबन्धनको बैठकले संविधान विपरितका काम नगर्न चेतावनी दिएको छ ।

सरकारले अलोकतान्त्रिक र असंवैधानिक काम गरिरहेको आरोप लगाउँदै त्यस्ता काममा संलग्न नहुन राज्यका सबै अंग र निकायहरुलाई आग्रह गरेका छन् ।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं ।’ उनीहरुले देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि कामकारबाही नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।

बैठकपछि जारी गठबन्धनको प्रेस विज्ञप्तिमा देश र जनताका लागि दीर्घकालीन रुपमा असर पार्ने खालका कार्यक्रम ल्याएकोमा समेत आपत्ति जनाइएको छ ।

प्रतिनिधिसभाको पुनस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यको हस्ताक्षरमा विकल्प प्रधानमन्त्री समेत आफूहरुले प्रस्तुत गरिसकेको अवस्थामा दीर्घकालका लागि प्रभाव पार्ने बजेट ल्याएकोमा विपक्षी गठबन्धनले चेतावनी दिएका हुन् ।

संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

१६ जेठ २०७८, आइतवार १२:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु