कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई

नेकपा एमालेको केपी ओली र माधव नेपाल पक्ष बीचको बैठक सकिएको छ।
पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप सिंहदरबारमा बैठक बसेको हो ।
छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माधव नेपाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागी थिए । अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो ।
पार्टीको विवाद अन्त्यका लागि कार्यदल बनाएर छलफल गर्ने दुइ नेताबीच सहमति भएको थियो ।
बैठकबाट कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई दिइएको छ ।
शुक्रबार साँझ सिंहदरबारमा बसेको बैठकमा नेपाल पक्षका नेताहरु भीम रावल, घनश्याम भुसाल,सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए । त्यस्तै ओली पक्षबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।
ओली र नेता नेपालबीच बिहीबार पनि छलफल भएको थियो ।
बूढानीलकण्ठस्थित एक व्यापारीको घरमा भएको वार्ताले पार्टीको विवाद समाधानका लागि कार्यदल बनाउने समझदारी भएको थियो । कार्यदलमा रहने भनिएका नेताहरुसहित आज वार्ता भएको हो ।
३१ वैशाख २०७८, शुक्रवार २१:४३ बजे प्रकाशित